विभिन्न ४१ पदका लागि आइतबार भएको स्थानीय तह उपनिर्वाचनको हालसम्म ३६ वटा पदको नतिजा सार्वजनिक भएको छ ।
दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३२ वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।
गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।
यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ ।
यसअघि काँग्रेसले नै जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचना कुमारी भण्डारी विजयी हुनुभएको छ ।
नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्ष मध्ये काँग्रेसले १६, एमालेले ५, माओवादी केन्द्रले ५, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् । अब एक मेयर, दुई उपाध्यक्ष र तीन वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।
कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा भएको चुनावको मतगणना शुरु हुँदैछ । उपाध्यक्षकै लागि चुनाव भएको अर्को ठाउँ दोलखाको गौरीशंकर गाउँपालिकामा दिउँसो मात्रै मतगणना गर्ने तयारी छ ।