काठमाडौं, फागुन २४ :

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ कार्यान्वयनमा ल्याएको छ ।

राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रदायक सबै कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० र सो पश्चात २०८१ फागुन २१ गतेसम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको हो,’ राष्ट्र बैंकले भनेको छ ।

विद्युतीय भुक्तानी कार्ड सञ्चालनका लागि राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई विद्युतीय भुक्तानी कार्ड सञ्चालन सम्बन्धमा भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग निर्देशनहरु जारी गरिएको राष्ट्र बैंकको भनाइ छ ।

निर्देशनअनुसार विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत व्यवस्थाअन्तर्गत विद्युतीय भुक्तानी कार्ड जारी गर्नुपूर्व यस सम्बन्धमा आवश्यक नीति सञ्चालक समितिबाट पारित गरी लागु गर्नुपर्नेछ । विद्युतीय भुक्तानी सेवा सञ्चालन र सुरक्षा तथा जोखिम व्यवस्थापनलगायत मापदण्ड सम्बन्धमा यस बैंकबाट समय-समयमा जारी गरिएका निर्देशनको पालना हुने गरी उक्त नीति अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त संस्थाले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अनुमतिपत्रप्राप्त (क) तथा राष्ट्रियस्तरका (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्डलगायत विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् । अनुमतिपत्रप्राप्त राष्ट्रियस्तर बाहेकका (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्था र राष्ट्रियस्तरका (घ) वर्गका संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नेछन ।

बैंक तथा वित्तीय संस्थाबाहेक भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्रप्राप्त संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्नेछन् । प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेबिट/क्रेडिट/प्रिपेड) को एकभन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड योजनाअन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन ।

विद्युतीय भुक्तानी कार्ड जारी गर्दा ग्राहकलाई दिनुपर्ने सूचना तथा जानकारीअन्तर्गत कार्ड प्रयोग गर्न महत्त्वपूर्ण सर्त तथा बन्देजको सूचीमा न्यूनतम विषय समावेश गरी ग्राहकसँग सम्झौता गर्नुपर्नेछ । यस्तो सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्नेछ । कार्डबाट गर्न सकिने कारोबारको प्रकार, कार्ड जारी गर्दा तथा कारोबार गर्दा तिर्नुपर्ने सेवा शुल्क, कारोबारको संख्या सीमा भएमा सोको विवरण, नगद तथा भुक्तानी कारोबारको सीमा, क्रेडिट कार्डको हकमा क्रेडिट सीमा, कार्डमार्फत गरिएको कारोबारको बिलिङको समयावधि तथा माध्यम, रकम भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी गर्न नसकेमा वा न्यूनतम रकम मात्र तिर्दा लाग्ने ब्याजदर तथा हर्जाना र सोको लेखाहिसाबको विधि (उदाहरणसहित स्पष्ट हुने गरी) सुरक्षित कारोबारका लागि कार्ड प्रयोग गर्दा ग्राहकले अपनाउनुपर्ने सजगता आदिको बारेमा ग्राहकलाई जानकारी दिनुपर्नेछ ।

एकीकृत निर्देशनअनुसार विद्युतीय भुक्तानी कार्डमार्फत हुने कारोबारका लागि अनुमतिपत्रप्राप्त संस्थाले विद्युतीय भुक्तानी काडमार्फत खातामा रहेको मौज्दात तथा कारोबारसम्बन्धी विवरण उपलब्ध गराउने, बैंक तथा वित्तीय संस्थाले एटीएम, डिपोजिट मेसिनबाट नगद कारोबार गर्ने, वस्तु खरिद वा सेवा उपभोग गरे वापतको रकम प्वाइन्ट अफ सेल (पोस), प्वाइन्ट अफ ट्रान्जिक्सन (पोट) मेसिन, इन्टरनेट वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलगायत कामहरु गर्न सक्नेछन् ।

यसैगरी विद्युतीय भुक्तानी कार्ड र सोसम्बन्धी उपकरणअन्तर्गत विद्युतीय भुक्तानी कार्ड तथा एक्वायर डिभाइसहरु अनिवार्य रुपमा चिप बेस हुनुपर्नेछ । तर, यस बैंकको स्वीकृति लिई संस्थाले आवश्यक सुरक्षा प्रबन्ध मिलाई क्यूआर बेस वा अन्य नन चिप कार्ड जारी गर्न सक्नेछन् ।

विद्युतीय भुक्तानी कार्डमार्फत हुने कारोबार अनिवार्य रूपमा चिप र पिनमा आधारित हुनुपर्नेछ । तर, एनएफसीटी (नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी) कन्ट्याक्टलेस कार्डमार्फत विद्युतीय कारोबार गर्दा पिन आवश्यक हुने छैन । भुक्तानी प्रणाली सञ्चालकले राष्ट्र बैंकको स्वीकृति लिई कार्ड योजना सञ्चालन गर्न सक्नेछन् ।