
नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोटको सुपर थ्री अन्तर्गत यूएईलाई पाँच विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो ।
टर्डथाई क्रिकेट मैदानमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । कप्तान इन्दु वर्माले अविजित ३० रन बनाउँदै नेपाललाई जित दिलाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान दिइन् ।
यसअघि ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । यूएईका इसा ओजाले सर्वाधिक ३९ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट लिइन् ।
यो जितसँगै नेपालले एक खेल अगावै ग्लोबल छनोटमा स्थान बनाएको छ । अब थाइल्याण्डसँगको खेलको परिणामले नेपालको स्थानमा असर पार्ने छैन ।
यसैबीच, यूएईलाई ५४ रनले पराजित गर्दै थाइल्याण्डले पनि ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ ।