काठमाडौं, भदौ १३ :

नेपालमा यतिबेला डेंगी संक्रमणसँगै जापानिज इन्सेफलाइटिस र हैजा तथा झाडापखालाका बिरामीहरु व्यापक रुपमा बढ्दै गएका छन् । यतिबेला काठमाडौंसहितका सहरी क्षेत्रहरुमा डेंगी र जापानिज इन्सेफलाइटिसको चिन्ता बढ्दो छ भने मधेसका क्षेत्रहरुमा हैजा र झाडापखालाले विकराल अवस्था ल्याएको छ ।

सरकारको पछिल्लो तथ्यांक हेर्दा अहिलेसम्म डेंगीको संक्रमण ७४ जिल्लामा फैलिसकेको छ भने ३ हजार बढी संक्रमित पुष्टि भइसकेका छन् । जापानिज इन्सेफ्लाइटिसबाट पनि २० जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या पनि नियमित उकालो लाग्दै गइरहेको छ ।

त्यस्तै पछिल्लो समय विकराल बन्दै गइरहेको हैजाले पर्साको वीरगन्ज र बारामा पनि भयावह बनाएको छ । वीरगन्जमा मात्रै अहिलेसम्म १५० जनामा हैजा संक्रमण पुष्टि भएको छ भने ५ सय बढी झाडापखलाका बिरामी फेला परेका छन् । त्यसमध्ये अधिकांश बिरामी अस्पताल नै भर्ना भएका छन् ।

यी विभिन्न संक्रमणहरु ग्रामीण इलाकाको तुलनामा सहरी इलाकामै व्याप्त रहेकामा चिन्ता व्यक्त गर्दै विज्ञहरुले पनि सतर्कता अपनाउन आह्वानसमेत गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले डेंगी, जापानिज इन्सेफलाइटिस र हैजा तथा झाडापखालाबाट बच्न सुझाएका छन् । प्रस्तुत छ- सक्रिय न्युजका लागि डा. बास्तोलासँग गरिएको कुराकानीको सम्पादित अंश :

डेंगी संक्रमण के हो ? 
यो लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको संक्रमण हो । खासगरी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगी रोग लाग्छ । यो एक प्रकारको ज्वरो हो । पहिलेपहिले सहरी क्षेत्रमा मात्रै यसको संक्रमण हुने गरे पनि पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि देखिने गरेको छ । विशेषगरी यसले गमला, खाली बट्टा तथा डिब्बा, टायरलगायत सफा पानी जम्ने ठाउँमा फुल पार्ने गर्छ ।

यसका लक्षणहरु के-के हुन् ?
डेंगी रोगको लक्षण सुरुमा अत्यधिक ज्वरो आउनु हो । यो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगी संक्रमण भइसकेपछि मूलतः आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण पनि देखा पर्छन् ।

डेंगी संक्रमण भइसकेपछि यसको दीर्घकालीन असर पनि पर्छ ?
हो, यसको संक्रमणले दीर्घकालीन तथा क्षणिक दुवै असर गर्छ । यसको संक्रमण भइसकेपछि शरीरका विभिन्न ठाउँमा पानि जम्ने, मांसपेशी शिथिल बनाउने, रक्तसञ्चारमा असर गर्ने भएकाले नशा तथा हाडजोर्नीले काम नगर्ने, निरन्तर थकान भइरहने, हुँदै मृत्युकै मुखसम्म पनि पुर्‍याउने अवस्था पनि आउन सक्छ ।

डेंगीबाट कसरी बच्ने त ?
यसबाट बच्न सुरुमा त लामखुट्टेको टोकाइबाट नै बच्नुपर्छ । त्यसका लागि पूरै शरीर ढाक्ने लुगा लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला पनि झुल लगाएर मात्रै सुत्ने, आफ्नो घरवरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने गर्नुपर्छ भने घर अफिसमा लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने गर्नुपर्छ ।

त्यस्तै पानी राख्ने भाँडाहरूजस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोप्ने र पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने गर्नुपर्छ ।

पछिल्लो समय नेपालमा जापानिज इन्सेफलाइटिसको संक्रमणले पनि भयावह रुप लिएको देखिन्छ, यो कस्तो संक्रमण हो ?
यो पनि एक प्रकारको लामखुट्टेकै टोकाइबाट हुने संक्रमण हो । यो संक्रमण क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुन्छ । हुन त यो खोपले निर्मूल पार्न सकिने संक्रमण हो । तर नेपालमा खोप नलाउने मानिसहरुको संख्या पनि धेरै रहेकाले यसको संक्रमण फैलिँदै गएकाले जोखिम पनि बढ्दै गइरहेको छ ।

मानिसमा यसको संक्रमण कसरी हुन्छ ?
यो चराचुरुंगीबाट सुँगुर, बँगुरजस्ता जनावरमा सर्छ । त्यसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि यो मानिसमा पनि संक्रमण फैलिन्छ । त्यसकारण गाईवस्तु तथा कृषि, बँगुर फार्मसँगै खेतबारीमा काम गर्नेहरुमा यो छिटो संक्रमण हुन्छ । यो पनि भाइरल इनफेक्सन जस्तै संक्रमण हो ।

यसका लक्षणहरु के-के हुन् ?
यसका लक्षणहरु भने संक्रमितको एक प्रतिशत मात्रै देखिन्छ । खासगरी ती लक्षणहरु खोप नलागाएकामा देखिने गरेको छ । जापानिज इन्सेफलाईटिसका लक्षणहरु भने उच्च ज्वरो आउनु, मुर्च्छा पर्नु, घाँटी अररो हुनु, स्मरण शक्ति ह्रास भएर भ्रममा पर्नु, नशाहरु शिथिल हुँदा बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु यसका लक्षणहरु हुन् ।

संक्रमितहरुमा यसको असर क्षणिक हुन्छ कि दीर्घकालीन असर पनि पर्छ ?
यसले दीर्घकालीन असर पनि पार्छ । मुख्यत: यसले ब्रेनमा असर गर्ने भएकाले स्मरण शक्ति कम हुन्छ, स्नायु प्रणाली कमजोर बनाउँछ, नशा तथा मांसपेशीमा असर पार्ने भएकाले शरीरका कुनै भाग नचल्ने प्यारालाइसिस तथा काम्ने, जिब्रोमा असर गर्दा बोल्न नसक्ने अवस्था पनि हुन्छ भने अहिलेको अवस्थामा संक्रमितमध्ये २० देखि ३० प्रतिशतको त मृत्यु नै हुने गरेको देखिन्छ । यसको संक्रमण भएका व्यक्तिहरु प्राय: कुनै न कुनै रुपमा अंगभंग नै भएको देखिएकाले सतर्क रहन अत्यावश्यक देखिन्छ ।

यसबाट ज्यान गुमाउने पनि बढिरहेका छन्, कुन समूह बढी प्रभावित र जोखिममा छन् ?
यो खासगरी बालबालिकामा बढी देखिने संक्रमण हो । नेपालमा खोप नलगाएकामा ठुलो उमेर समूहमा पनि यो संक्रमण देखिन्छ । अहिले १५ वर्षमाथिका उमेर समूहका संक्रमित पनि ज्यादा छन् ।

खोप नलगाएका सोही उमेर समूहका व्यक्तिहरुको मृत्युसमेत भइरहेको छ । समग्रमा नेपालको हकमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप नलगाएका सबै उमेर समूहका व्यक्तिहरु जोखिममा छन् ।

यसबाट कसरी बच्न सकिन्छ ?
यसबाट बच्न सुरुमा त खोप लगाउने नै हो । त्यस सँगसँगै डेंगीजस्तै अन्य लामखुट्टेको टोकाइबाट बच्न गरिने प्रयासहरु जस्तै शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टेले नटोक्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, झुल लगाएर मात्रै सुत्ने बानीको विकास गर्ने गर्नुपर्छ ।

अहिले मधेसमा हैजा फैलिएको छ ? हैजा के कारण हुन्छ ?
यो फैलिनुको एकमात्रै कारण हो सरसफाइ । हैजा पुरानो रोग हो हुन त, तथापि पहिलैदेखि खुला ठाउँमा दिसापिसाब नगर्न र सरसफाइमा ध्यान दिन तथा सफा पानी पिउन आह्वान गर्दै आए पनि यो अन्त्य हुन सकेको छैन ।

समग्रमा भन्नुपर्दा आवश्यक सरसफाई नहुनु र दूषित पानि पिउनु नै हैजा र झाडापखालाको संक्रमण निम्त्याउनु हो । सँगै घर र खानेपानीको मुहान तथा धारा वरिपरि फोहोर गर्नु, नियमित सरसफाइमा ध्यान नदिनु, खानपानमा ख्याल नगरी फोहोर खानेकुरा र दूषित पानी पिउनु नै हैजाको मुख्य कारण हो ।

हैजा र झाडापखालाबाट बच्न के गर्नुपर्छ ?
यसबाट बच्न, आफ्नो सरसफाइसँगै घरवरपर र पानीको मुहानवरिपरि सफा गर्नुपर्यो, साबुन पानीले नियमित हात धुने, पानी राम्रोसँग उमालेर पिउने, फलफूल तथा खानेकुरा धुँदा र सफा गर्दा सफा पानिको प्रयोग गर्ने, खुला ठाउँमा दिसा-पिसाब नगर्ने, सेनिटाइज गरिरहने गर्नुपर्छ । यसको एकमात्रै उपाय भनेको दूषित पानी नपिउनु र सरसफाइमा ध्यान दिनु नै हो ।

हैजा र झाडापखलाको दीर्घकालीन समाधानका लागि के गर्न सकिन्छ ?
दीर्घकालीन समाधान भनेको मुख्य दुई-तीन कुरा हुन् । सबैभन्दा पहिलो कुरा त्यहाँको शिक्षा नै हो । आमजनताको तहमा स्वास्थ्य शिक्षाको पहुँच के कस्तो छ ? यो ख्याल गर्नुपर्छ । यदि छैन भने स्वास्थ्य शिक्षा प्रभावकारी रुपमा दिन सक्नुपर्छ ।

नियमित साबुनपानीले हातधुने बानीको विकास भएको छ कि छैन ? दिसापिसाब र फोहोरको व्यवस्थापन तथा सरसफाइ के कसरी भइरहेको छ ? यो अर्को महत्त्वपूर्ण कुरा हो । अर्को महत्त्वपूर्ण कुरा भनेको खानेपानीको व्यवस्थापन के कसरी भइरहेको छ ? ढल व्यवस्थापन कस्तो छ ? खानेपानी निर्मलीकरण कसरी भइरहेको छ ? खानेपानीको मुहान र त्यसवरपरको सरसफाइसँगै खानपान, रहनसहन र बसोबासले पनि प्रभाव पार्छ । समग्रमा स्वास्थ्य शिक्षासँगै नियमित साबुनपानीले हात धुनु घरवरपर र खानेपानी मुहानवरपर सफा राख्नु, सेनिटाइज नियमित गर्नु, चर्पी, ढलजस्ता फोहोर व्यवस्थापन गर्ने क्षेत्र व्यवस्थित गर्नु नै हैजा र झाडापखलाबाट बच्ने उपाय हुन् ।