
जेनजी आन्दोलनपछि यतिबेला सिँगो देश नै भावविह्वल अवस्थामा छ । यसबाट हरेक परिवारका सदस्यहरु तथा बालबालिकाहरु प्रभावित बनेका छन् ।
आन्दोलनका क्रममा भएका घाइते, ज्यान गुमाएका मृतक, भावविह्वल भएका उनीहरुका आफन्त, कतिपय क्षतविक्षत र रत्ताम्य बनेका शव तथा घाइतेका शरीर, आगजनीले ध्वस्त भएका संरचना, छिमेकीहरुका घर, कार्यलय तथा व्यापारिक केन्द्रहरु देख्दा यसले आम जनमानसमा नराम्रो चोट पुगेको देखिन्छ।
बढ्दो सामाजिक सञ्जालको प्रयोगमा पनि हरेक दिन यस्तै प्रकारका भिडियो तथा दृश्य हेरिरहँदा र देखिइरहँदा यसले हरेक परिवार तथा अभिभावक र बालबालिकाहरुमा समेत असर पार्दै गएको छ ।
यसले बाल मनोविज्ञानमा गम्भीर असर पार्न सक्ने भएकोले सावधानी अपनाउन र ख्याल गर्न मनोविद् तथा चिकित्सकहरुले सुझाव दिएका छन् । यसै सन्दर्भमा सक्रिय न्युजले सिभिल अस्पताल काठमाडौंका मनोचिकित्सक डा. अरविन्द भुसालसँग जेनजी आन्दोलनले उत्पन्न परिस्थितिले बालबालिका र अभिभावकहरुको मनोविज्ञान तथा मष्तिस्कमा कस्तो प्रभाव पार्न सक्छ ? भन्ने विषयमा चासो व्यक्त गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
जेनेजी आन्दोलनपछि अहिले सामाजिक सञ्जालहरुमा मृतक, घाइते तथा आगजनीका डरलाग्दा भिडियोहरु छरपस्ट छन् । यस्ता भिडियो हेर्दा बाल–बच्चाहरूको मनोविज्ञानमा कस्तो असर र प्रभाव पर्न सक्छ?
हो, यस्ता भिडियोहरु सामाजिक सञ्जालमा व्याप्त छन् । यस्ता भिडियो हेर्दा कलिला बाल–बालिकाहरू एकदम जोखिममा छन्। यस्ता कुनैपनि आन्दोलन, प्राकृतिक विपत्तिहरूमा घाइते भएका, गोली लागेका अनि धेरै मान्छेहरू रोएको, मरेको, चिच्याएको लगायतका भिडियोहरू हेर्दा बच्चाहरुमा एकदम नकारात्मक असर पर्छ।
जसले गर्दा उनीहरूलाई निन्द्रामा समस्या हुने, सुत्नै नसक्ने, स–सानो कुरामा रिस उठ्ने, अलिकति आवाज आयो भने झस्किने, तर्सिने, रुने चिच्याउने जस्ता किसिमका समस्याहरू देखा पर्छन् । यसले दीर्घकालीन असर पनि पुर्याउन सक्छ।
अब बच्चाहरुमा उत्पन्न भएको यो डर, त्रासलाई कसरी भगाउने त?
यसका लागी सबभन्दा पहिला त सामाजिक सञ्जालको प्रयोग नै कम गर्नुपर्छ । अभिभावकहरु त्था बाबाआमाले पनि यस्ता किसिमको भिडियोहरू हेरिराख्ने गर्दा बच्चाले पनि त्यही देख्छ, त्यही हेर्छ, त्यो भएर यस्ता कुराहरुमा बाबुआमाले ध्यान पुराउन जरुरी छ ।
सामाजिक सञ्जालको सट्टा अरु आउटडोर एक्टिभिटीहरू गर्ने, जस्तै विभिन्न गेम खेल्ने, म्युजिक, कमेडी शोहरू हेर्ने, बच्चालाई स्टोरी टेलिङ अझ भनौ कथा कविता सुनाउने, बाहिर घुम्न लैजाने जस्ता कृयाकलाप गर्ने गर्नुपर्छ ।
यसले बच्चाहरुमा दीर्घकालीन असर पनि पार्न सक्छ?
हो, यस्ता किसिमका घटनाहरुमा देखिने घाइतेका चोटपटक, खतहरू, घाउहरू देख्दा आन्दोलनको क्रममा बच्चाले प्रत्यक्ष रूपमा पनि गोली लागेको देख्दा अथवा भिडियोमा त्यस्ता दृश्यहरु देख्दा उसको सबकन्सियस माइन्डमा असर गर्छ र भविश्यमा एन्जाइटी डिसअर्डरहरू हुन सक्ने सम्भावना चाहिँ रहन्छ।
सामान्य रुपमा भन्नुपर्दा यसप्रकारका दृश्यहरुले दिमागमा वा वालमनोविज्ञानमा सोच्न सक्ने क्षमता पनि नियन्त्रणबाहिर जान सक्छ सँगै एनजाइटी डिसअर्डर हुन सक्छ ।
अभिभावकहरूले यसमा ख्याल गर्नुपर्ने कुराहरू चाहिँ के–के हुन सक्छन् ?
यसमा अभिभावकले एकदमै ख्याल पुराउन जरुरी देखिन्छ । उनीहरुले मुख्य ख्याल गर्नुपर्ने कुराहरू चाहिँ आफ्नो बच्चाहरूले मोबाइल, ल्यापटपमा के चिजहरू हेर्छ, यस्तो भ्वाइलेन्सका तथा विध्वंशका कुराहरूभन्दा सकारात्मक र राम्रा–राम्रा कुराहरू हेर्न प्रोत्साहन गर्ने ।
अब आफूले पनि राम्रो म्युजिकहरू सुन्ने राम्रो कमेडी शोहरू हेर्ने, बच्चासँगै ड्रोइङ गर्ने, सकेसम्म बालबालिकाहरूलाई इन्टरनेट एडिक्सनबाट बचाउने उपाय अपनाउने, आफूले पनि टाइम दिने, कहिलेकाहीँ घुमाउन लाने, अरु–अरु एक्टिभिटिहरूमा सक्रिय बनाउने हो भने त्यो चाहिँ पक्कै पनि कम हुँदै जान्छ।
अहिले कतिपय परिवारले नै आन्दोलनमा आफ्नो सदस्य गुमाएका छन्, जसले गर्दा तयो परिवार नै शोकमा छ, यस्तो भावविह्वल अवस्थामा यो परिवारका सदस्य र बच्चाहरूले के गर्ने?
हो, पक्कै पनि अहिले एक्कासी यो आन्दोलनले जुन किसिमको घटनाक्रम विकास भयो नि, त्यो एकदम अनएक्सपेक्टेड नसोचेको थियो । जसले धेरै जनाको परिवारमा एक किसिमको ठूलो आघात पुगेको छ । यसबाट बाहिर निस्किनको लागि समय चाहिँ लाग्छ।
त्यसका लागी आत्मबल र धैर्यता मुख्य कुरा हो । नेपाली उखान छ नी ‘शोकलाई शक्तिमा बदल्नुपर्छ‘ भन्ने हो, त्यो किसिमले सकारात्मक बनेर अब समाजलाई कसरी राम्रो सन्देश दिन सकिन्छ भन्ने कुरामा लाग्न सक्नुपर्छ, आफ्नो कारण परिवारमा थप आघात नपुगोस् भन्ने साचेर अगाडि कार्य गर्न सक्यो भने चाहिँ यो आघातबाट निस्किन सकिन्छ।
ती बालबच्चाहरु र अभिभावकहरूलाई यहाँको सुझाव चाहिँ के छ?
अब जिन्दगीमा अनेकौं धेरै तनावहरू घट्छन्। कहिले प्राकृतिक विपदहरू बाढी–पहिरो, भूकम्प आउँछ, बिचमा कोभिडको पालो आयो ती सबै सामना गरेका थियौं । यस्ता हरेक परिस्थितिहरूमा अलिकति धैर्यता राख्नुपर्ने हुन्छ। किनभने एउटै चिज सधैँ रहँदैन, कुनै पनि कुरा दिगो र स्थायी पनि हुँदैन । सुख–दुख, बितेर जाने कुरा हो भन्ने लिनुपर्छ।
कुनै पनि घटनाक्रमहरुलाई लिएर धेरै सोच्ने जटिल ठान्ने गर्नुहुदैन । त्यसलाई कसरी समाधान गर्ने भन्नेमा नै केन्द्रित हुनुपर्छ । आफ्नो दैनिकी, डेली लाइफ स्टाइल, जस्तो आफ्नो खानपिन, सुताई तथा निद्रा, नियमित व्यायाम, हिँड्डुल गर्न थाल्यो र तनाव व्यवस्थापनको लागि विभिन्न उपाय अवलम्बन गर्ने बानीको विकास गर्नुपर्छ ।
कसैलाई हिड्न मन पर्ला, कसैलाई पौडि खेल्न मन पर्ला, कसैलाई घुम्न मन लाग्ला यसतर्फ सरिक हुनुपर्छ । तर तनाव व्यवस्थापनका लागि भनेर नेगेटिभ कोपिङ मेकानिजम गलत क्रियाकलापहरु जस्तो अल्कोहल सेवन, चुरोट तथा मदिराको सेवन बढायो भने त्यसले झन् ठुलो समस्यामा फसाउन सक्छ । यसतर्फ निकै सचेत रहनुपर्छ । स्वास्थ्य र परिवार नै ठुलो कुरा हो र म नै जिम्मेवार बन्नुपर्छ भन्ने धारणाको विकास गर्नुपर्छ ।