काठमाडौं, असोज ६ :

नेपालमा केही वर्ष यता मृगौलासम्बन्धी रोगका बिरामीहरु बढ्दै गएका छन् । खासगरी अस्वस्थकर खानपान, व्यस्त जिवनशैलि, नियमित व्यायाम तथा कसरतको कमी र लक्षण देखा परिसकेपछि पनि बेवास्ता गर्ने प्रचलनले नेपालीहरुमा मृगौलासम्बन्धी रोगले ग्रस्त बनाउँदै लगेको देखिन्छ ।

अर्कातिर विगतमा स्वास्थ्य संस्थाको पहुँच नहुँदा र नियमित रगत तथा पिसाब जाँच गर्ने प्रचलन नहुँदा मृगौला रोग लागेकै बिरामीमा पनि पुष्टि नहुने गरेकोमा पछिल्लो समय नियमित चेकजाँचले पनि मृगौलासम्बन्धी रोग पत्ता लाग्ने गरेको चिकित्सकहरु बताउँछन् ।

खासगरी मृगौला रोगसम्बन्धी समस्या भएका बिरामीहरुमा लक्षण नदेखिने भएकोले नियमित रगत तथा पिसाबको जाँच गरिरहन मृगौलारोग विषेशज्ञ डा. सुरेश महर्जनको सुझाव छ। यसै सन्दर्भमा सक्रिय न्युजले डा. महर्जनसँग मृगौला रोगको बारेमा चासो व्यक्त गरेको छ। प्रस्तुत छ, डा. महर्जनसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालमा मृर्गौलाका रोगीहरु बढ्दै गइरहेका छन्, कारण के हो ?

हो, नेपालमा पछिल्लो समय मृर्गौला रोगीहरु बढ्दै गैरहेका छन्, यसको मुख्य कारण खानपिन र सहरीकरण हो । खानपिनको कारणमा हामीले ताजा फ्रेस खानेकुराहरु खाने गरिन्थ्यो, तर आजकल बारीबाट टिपेर ल्याएर खाने भनेको चाहिँ अलि कम मान्छेले छन्।

अनि सहरीकरणको कारणमा चाँही हाम्रा हजुरबुवा तथा बाजे, बजैको पालाहरुमा नियमित जाँच हुँदैनथ्यो र जाँच गर्ने प्रविधि पनि हुँदैन थियो। तर अहिले गाउँदेखी सहरसम्मै आफ्नो स्वाथ्य जाँच गर्नेहरु बढ्दै गएका छन्।

हाम्रो देशले पनि स्वास्थ्य क्षेत्रमा राम्रो विकास र डेभलप भइसक्या छ। सामान्य केही समस्या आउनासाथ बिरामीहरु हस्पिटल आउँछन्, जाँचहरु गर्छन् र रोग पत्ता लाग्छ। तर विगतमा रोग नै लागेको भएपनि अस्पताल जाने र जाँच गर्ने प्रचलन नहुँदा थाहा नै हुँदैनथ्यो, अहिले सजिलैसंग स्वास्थ्य चौकीहरुमै यो मिर्गौलाको रोग पत्ता लगाउनको लागि सबै उपकरणहरु उपलब्ध छन्। त्यो हिसाबले पनि रोग चाहिँ चाडै पत्ता लाग्ने र धेरै जनामा देखिने भएको हो।

नेपालमा मृर्गौला सम्बन्धी चाहिँ कस्ता कस्ता समस्याहरु देखिने गरेका छन् ?

अब मृर्गौलाको रोग एक साइलेन्ट किलर हो । किनकी अरु रोगहरु जस्तै मुटुको रोगीमा छाती दुख्ने हुन्छ, फोक्सोको रोग निमोनियाहरुमा खोकी लाग्ने हुन्छ, पेटको रोगमा पेट दुख्ने हुन्छ। तर यो मिर्गौलाको रोगमा भने लक्षण नै देखा पर्दैन।

जबसम्म हाम्रो मृर्गौला ७० देखि ८० प्रतिशत बिग्रिएको हुँदैन नि, तबसम्म हाम्रो कुनै पनि लक्षण देखा पर्दैनन् र लक्षण देखि परिसकेपछि हस्पिटल अथवा स्वास्थ्य चौकी गएर जाँच गर्दा मिर्गौला पूर्ण रुपमा फेल अथवा खराब भइसकेको हुन्छ ।

यदि कसैलाई चाँडै लक्षण देखा पर्यो भने म त उनीहरुलाई एकदम भाग्यमानी भन्छु। किनकी उनीहरु स्वास्थ्य चौकी गएर जाँच गर्छन् र रोगको पहिलो चरणमै उपचार गरेर निको पार्न सकिन्छ।

त्यस्ता मानिसहरुमा चाँही कस्ता लक्षण देखिन्छन् ?

अब यसको लक्षण भनेको आँखा र वरीपरी सुनिने, अनुहार सुनिने, खुट्टाहरु सुनिने र पछि बिस्तारै गएर गएर पुरै शरीरहरु सुनिने हुन्छ। यो अनुहार सुनिने, खुट्टा सुनिने चाहिँ मिर्गौलाको यो पहिलो रोगको लक्षण हो। अनि खान मन नलाग्ने, भोक नलाग्ने, आलश्य हुने, थकान बेसी लाग्ने हुन्छ।

त्यस्तै पिसाब फेर्दा खेरि पिसाबमा फिज धेरै आउने हुन्छ, यो प्राय मानिसले नोटिस गर्या हुँदैन, पिसाब चाहिँ अलि रातो रातो आउने, कसैलाई रगत नै आउने पनि हुन्छ, यदी कसैको  पिसाबको इन्फेक्सन भएको छ अथवा किड्नीको इन्फेक्सन छ भने त कोखाहरु दुख्ने हुन्छ। र मिर्गौला पूर्ण रुपमा फेल हुँदै गयो, भने बिरामी एकदम सुस्त हुने, थकान लाग्ने, काम गर्न मन नलाग्ने, हुँदै लास्ट स्टेजमा पुगिसकेपछि बिरामी नै बेहोस हुने हुन्छन् ।

खास मृगौलाका रोगहरु कति प्रकारका हुन्छन् ? उपचार पद्धति के छ ?

मृर्गौलाको रोग दुई प्रकारका हुन्छन् । एउटा चाहिँ क्षणिक रुपमा असर हुने, त्यसलाई चाहिँ हामीले एक्युट किड्नी इन्जुरी भन्छौं, अर्को चाहिँ दीर्घकालीन रोग क्रोनिक किड्नी डिजिज भन्छ, सिकेडी भन्छ। जब सिकेडीमा गइसक्छ, त्यो भने मिर्गौला पूर्ण रुपमा काम गर्न नसक्ने गरी फेल भइसकेको हुन्छ ।

त्यसकारण क्षणिक रुपमा फेल भएको मिर्गौलालाई हामीले उपचार गर्यो भने पूर्ण रुपमा निको पार्न सक्छौ । तर कोही बिरामी अब सिकेडीमै गइसकेको छ भने त्यसको उपचार भनेको चाहिँ मृगौला प्रत्यारोपण नै हो।

नेपालमा गरिने मृगौला प्रत्यारोपणमा सफलता कस्तो छ ?

नेपालमा मृगौला प्रत्यारोपणमा सफलता निकै उच्च छ अर्थात एकदम राम्रो छ । विश्वव्यापी रेकर्ड हेर्ने हो भने अमेरिका, यूके लगाएतका विकसित देशहरुमा करिब ९५% सफलता रेट छ तर, नेपालमा भने ९८% माथी छ । अर्कातिर नेपालमा मृगौला प्रत्यारोपण हुन थालेको पनि धेरै लामो समय त भएको छैन । २००८ बाट बल्ल नेपालमा सुरु भएको हो।

त्यसयता अहिलेसम्म लगभग २५०० देखि ३००० जनाको मृगौला ट्रान्सप्लान्ट भइसकेको छ । यो अवधीमा नेपालले मृगौला प्रत्यारोपणमा निकै राम्रो सफलता पाईरहेको छ।

मृगौला प्रत्यारोपण गरिसकेपछि बिरामीहरु पूर्ववत् अवस्थामा फर्कन सक्छन् त ?

हजुर, हो । मृगौला ट्रान्सप्लान्ट गरेको व्यक्त पूर्ण रुपमा पहिला जस्तो थियो, त्यस्तै अवस्थामा फर्किन सक्छ । बिरामी र तपाईं, हामिमा केही पनि फरक हुँदैन।

त्यो बिरामी र अन्यमा यति मात्रै फरक हुन्छ कि उसले नियमित औषधी लिनुपर्छ अरुले पर्दैन । त्यही भएर मृगौला ट्रान्सप्लान्ट गरेपछि पूर्ण रुपमा उसको किड्नी नर्मल हुन्छ। उसले पहिला जे काम गरेको थियो, त्यो काम गर्न, नयाँ बिजनेस, नयाँ काम सबै पूर्ण रुपमा स्वस्थ मान्छेले जस्तै गर्न सक्छ।

त्यसो भए मृगौलाको रोग लाग्नै नदिन के गर्ने ? र, लागिसकेपछि के गर्ने ?

हो, मृगौला रोग लागेर उपचार गर्नुभन्दा लाग्न नदिनु नै राम्रो हो । त्यसकारण मृगौला रोगबाट बच्न हामीले दुई–चारवटा कुराहरुमा ध्यान दिनुपर्छ। यो साइलेन्ट किलर प्रोबलम भएकोले हाम्रो शरीरमा चाहिँ रोग छ भने पनि जाँच नगरेसम्म थाहै हुँदैन ।

तर हाम्रो नेपालीहरुको बानी, के छ भने जबसम्म गाह्रो हुँदैन, लक्षण देखा पर्दैन, तबसम्म अस्पताल नै जाँदैनौं । मलाई त ठीकै छ, किन जाँच गर्नु पर्यो? भन्ने हाम्रो मनसाय छ । तर त्यो भनेको किड्नी मृगौला रोगमा एकदम गलत मनसाय हो ।

त्यही भएर हामीले कम्तीमा वर्षको एकपटक लक्षण देखे पनि, नदेखे पनि रगतको जाँच र पिसाबको जाँच चाहिँ गर्नै पर्छ। किनकि यो साइलेन्ट किलर हो । मृगौला पूर्ण रुपमा खराब नभएसम्म लक्षण नै देखा पर्दैन ।

यदि त्यो जाँच गर्यो भने ९०% भन्दा बढी मृगौला रोग साधारण पिसाबको जाँचबाट थाहा हुन्छ । भने भिडियो एक्सरे, अल्ट्रासाउन्ड गरेर हामीले किड्नीको कन्डिसन कस्तो छ, पत्थरी छ कि छैन, किड्नी सुनिएको छ कि छैन ? भन्ने कुरा हेर्न सक्छौँ ।

रगतको जाँचबाट मृगौलाले के कस्तो काम गरेको छ हेर्न सक्छौं । यो तीनटा जाँच गर्यो भने हामीले ९९.९% मृगौला रोग हाम्रो शरीरमा छ कि छैन, थाहा हुन्छ । अहिले एउटा साधारण ५० रुपैयाँमा पिसाबको जाँच हुन्छ । गाउँघरमा त यो फ्री नै छ अझ ।

त्यसपछि अर्को महत्पूर्ण भने हामीले खानपिनमा एकदम ख्याल गर्नुपर्छ । पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ । ठूलो मान्छेहरु १८ वर्षभन्दा माथिकोले गर्मी महिनामा ३ देखि ४ लिटर र जाडो महिनामा २ देखि ३ लिटर जति पानी नियमित पिउनुपर्ने हुन्छ ।

त्यसैगरी हामीले आफ्नो तौल कन्ट्रोल गर्नुपर्ने हुन्छ । आवश्यकताभन्दा तौल बढी भएको बिरामीहरुलाई किड्नीको रोग लाग्ने सम्भावना धेरै हुन्छ । त्यही भएर हामीले नियमित कसरतहरु गर्ने, व्यायामहरु तथा जिम गरेर अथवा मर्निङ वाक गरेर हामीले नियमित हाम्रो वेट चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ ।

त्यसैगरी मृगौलाको रोग लाग्ने पहिलो कारण चाहिँ सुगर पनि हो । त्यही भएर हामीले सुगरलाई एकदमै स्ट्रिक्ली कन्ट्रोल गर्नुपर्ने हुन्छ । प्रेसरलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ । यति कुरामा हामीले ध्यान सक्यौं भने मृगौलाको रोग लाग्नबाट केही हदसम्म बच्न सकिन्छ । र लागिसकेपछि पनि नियमित चिकित्सकको परामर्शमा रहने नियमित औषधी सेवन गरिरहने, व्यायाम तथा कसरतमा निरन्तरता दिने खानपानमा ख्याल गर्ने गर्नुपर्छ ।

(डा. सुरेश महर्जन मृगौला रोग विषेशज्ञ तथा मृगौला प्रत्यारोपण चिकित्सकका रुपमा काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत छन् )