
नेपालमा केही अवसर छैन' भन्दै तास र पोर्ट खेलेर समय बिताउने युवाहरुको भिडमै कोही यस्ता व्यक्ति निस्कन्छन् जो चुनौतीलाई अवसर बनाउन सक्छ । जसले राम्रोको खोजी गरेर समय खेर फाल्नु भन्दा आफूसँग जे छ त्यहीबाट शुरुवात गर्दछन् ।यस्तै, मिहिनेत गर्नेहरुका लागि जताततै सम्भावना छ भन्ने कुराको उदाहरण हुन्: मकवानपुरका कृष्ण ग्लान तामाङ ।
उनको घर पूर्वी मकवानपुरको वागमती गाउँपालीकामा हो । हाल उनी र उनकी श्रीमती ललितपुरमा बस्दै आएका छन् । बिगत ५ वर्षदेखि पठाओ राइड गर्दै आएका उनी आफ्ना कामसँग सन्तुष्ट छन् । उनी पठाओ राइड गरेरै आफ्नो ऋण तिरेको बताउँछन् ।उनी भन्छन्; ' गर्न सकियो भने हरेक कामबाट पैसा कमाइन्छ ।' उनका जीवनको कथा, सङ्गर्ष र पठाओ राइडिङ्को अनुभवसँग केन्द्रित रहेर कुराकानी गरेका छौं। प्रस्तुत छ: प्रेरक व्यक्तित्व कृष्ण ग्लानसँग सक्रिय खबरका संवादाता युवराज विश्वकर्माले गरेका कुराकानीको सम्पादित अंश:
-कति भयो पठाओ चलाउन थाल्नु भएको ?
कहिले काहीँ साथीहरुको लहैलहैमा लागेर राइड गरेको पनि हिसाब गर्ने हो भने ५ वर्ष जति भयो तर पूर्ण रुपमा पठाओ नै गर्छु भनेर लागेको चाहिँ करिब ३ वर्ष जति भयो ।
-कसरी प्रेरित हुनुभयो, पठाओ राइडको लागि ?
म गाउँबाट १२ कक्षा सकाएर ब्याच्लर जोइन गर्न काठमाडौँ आएँ । यता आइसके पछि खर्च बढ्न थाल्यो । सधैँ घरमा मागिरहन पनि अप्ठेरो लाग्न थाल्यो । कामको खोजी गर्न थालेँ । आफूले भनेको जस्तो काम नै नपाउने यो काठमाडौँँमा । ठमेलको केही नाम चलेको क्लबहरुमा काम त पाएँ तर अरुको अन्डरमा रहेर काम गर्न गाह्रो लाग्न थाल्यो । यसो साथीहरुसँग कुरा गर्दा पठाओबाट राम्रो आम्दानी गर्न सकिने थाहा पाएँ । काम छोडेर कहिलेकसो साथीहरुसँग पठाओ गर्न थालियो । शुरु शुरमा झ्याउ लाग्थ्यो । बाटो थाहा नहुने, लाज लाग्ने, कहिले काहीँ बाटो उल्टो पर्दा प्यासेन्जरको गाली पनि खाइयो । अनि म सानैबाट सेलिब्रेटीहरु, अलि चर्चित व्यक्तित्वहरुको आवाज निकालेर क्यारिकेचर गर्थेँ । पछि पछि हुँदै गएसी प्यासेन्जरहरुलाई पनि क्यारिकेचर गर्दै रमाइलो गराउन थालेँ । त्यसरी फरक फरक सेलिब्रेटीहरुको आवाजमा क्यारिकेचर गर्दिँदा उनीहरु पनि खुसी हुन्थे । रमाइलो मान्थे । लामो लामो बाटो पनि छिट्टै कटेको जस्तो लागेको भन्थे । यसैगरी बानी पर्दै गयो । आफ्नो खर्चको लागि आफैँले कमाउन सक्ने भएँ । पढ्दै, पठाओ राइड गर्दै गर्न थालेँ । पछि विदेश जाने सोचेर पढ्न छोडेँ । विदेश जाने योजना पनि क्यान्सिल भयो । अनि पठाओ गर्दा नै रमाइलो लाग्न थाल्यो । अरु काम गर्न मन खास्सै लागेन । यसरी पठाओ गरेरै आज सम्म जीवन चलिरहेको छ ।
-आम्दानी कस्तो छ ?
आम्दानीको कुरा गर्नु पर्दा यति नै भन्ने एकनाश हुँदैन । कहिले काहीँ एकै दिनमा ५-७ हजारसम्म पनि कमाएको छु । टाढा टाढाको राइड पाउँदा । कहिले काहीँ थोरैमा पनि चित्त बुझाउनु पर्छ । जे होस्, मैपठाओ गरेरै जम्मा गरेको पैसाले अलि अलि लागेको ऋण तिरियो ।अहिले त पहिलाको जस्तो छैन तर एक समय यस्तो थियो मैले ५ महिनामा लगभग ४ लाख जति कमाएको छु । अहिले पनि दुई जनाको जिन्दगी राम्रैसँग चलिरहेको छ । घरमा बुवाआमालाई दाइहरुले नै हेरिरहनु भएको छ । खास्सै मैले चिन्ता लिनु परेको छैन । जे होस्, आफुले जति मिहिनेत गर्यो त्यति नै पैसा आउने हो । सामान्यत: बाइकको खर्च कटाएर दिनको २-३ हजारसम्म जोगिन्छ ।
-कुन समयमा पठाओ चलाउन निस्कनु हुन्छ ?
हेर्नू यो चाहिँ फिक्स नै हुन्न । रेगुलर प्यासेन्जरहरुले बोलाए भने त जुन समयमा पनि निस्किनु पर्छ । कहिले काहीँ पाकेको खाना छोडेरै पनि गएको छु । तर म चाहिँ प्राय दिउँसो देखि रातिसम्म गर्छु । रातको समयमा पठाओको चाप अलि कम हुन्छ । मान्छेहरुलाई अर्जेन्ट परेको हुन्छ । आफू इमानदार भएर काम गर्दा कसैले खुसी भएर अलि धेरै पैसा पनि दिन्छन् । त्यही हो, कमाइ हेर्दा चाहिँ राती ज्यादा हुन्छ ।
- कस्ता कस्ता खालका प्यासेन्जरहरु भेटिन्छन् ?
ए प्यासेन्जरहरुको त कुरै नगरौँ । कहिले असाध्यै बुझ्ने खालकाहरु भेटिन्छन् । कहिले बोलाएर राइड क्याम्सिल गर्दिन्छन् । तर जे होस्, त्यस्तो नराम्रो खालको कमै भेटिएको छ । धेरैजसो त लेडिजहरु हुन्छन् । काम गरेर फर्कँदै गरेकाहरु, कलेज जान हतार भएकाहरु, कोही गाउँबाट आएर आफन्तकोमा जानुपर्नेहरु हुन्छन् । यस्तै यस्तै सबै खालका मान्छेहरु भेटिन्छन् ।
-कहिले काहीँ ठगी हुने, यात्रुलाई गन्तव्यमा पुर्याएपछि भाडा तिर्न गाह्रो मान्ने गरेका छन् ?
त्यस्तो चाहिँ खास्सै भएको छैन । मैले अघि पनि भनेँं, राइड बोलाएर क्यान्सिल गर्नेहरु चाहिँ हुन्छन् तर भाडा दिन नमान्नेहरु खास्सै भेटिएको छैन । हामी अनलाइन एप बाट जोडिएका हुन्छौँ । लाइभ लोकेशन सेयर हुन्छ । उसले त्यस्तो गर्यो भने हामीले अफिसमा सम्पर्क गर्न सक्छौँ । त्यस्तो चाहिँ अहिलेसम्म भएको छैन ।
- रातिभर यो काम गर्दा श्रीमतीले गाली गर्नु भएन ?
हैन । मेरी बुढी एकदम बुझ्ने छिन् । मान्छेहरुले उसलाई नचाहिने कुरा लगाएर झगडा गराउन खोज्थे तर पनि उसले कहिल्यै कहाँ गएर आइस् भनेर झगडा गरिनँ । म पनि गलत बाटोमा लागिनँ । कमाएको पैसा उसैलाई दिन्थेँ । मेरो दु:ख बुझेकी छिन् । रातैभरी न आउँदा पनि कहिल्यै किन छिटो न आएको भनेर झगडाचाहिँ गरेकी छैन । बुझ्ने छिन् मेरी बुढी । अरुको जस्तो यस्तो चाहियो उस्तो चाहियो भनेर झगडा पनि गर्दिन । त्यस्तो भएको छैन ।
- कति टाढासम्म जानु भएको छ प्यासेन्जर लिएर ?
टाढाको कुरा गर्नु पर्दा धेरैजसो त यही भ्याली भित्र नै हो । तर कहिले काहीँ धादिङ, नुवाकोट, यता धुलिखेल, सिन्धुपाल्चोकसम्म पनि पुगेको छु । कहिले काहीँ हेटौँडातिर जाने चिन्ने मान्छेहरुले कल गर्छन् त्यता जान्छु । टाढा जानू पर्दा चाहिँ अफलाइन बार्गेनिङ हुन्छ । दुवैजनालाई चित्त बुझ्ने भाडामा लगिन्छ । अफरोड छ भने गार्हो पनि हुन्छ । तर पैसा चाहिँ अब अनलाइनभन्दा अलि धेरै मै लिने गर्छौँ । अगाडि नै सबै कुरा फिक्स गरेर मात्र गइन्छ । त्यही हो, गएको छु टाढा टाढा पनि ।
-तपाईं कत्तिको खुसी हुनुहुन्छ, आफ्नो कामसँग ?
खुसी भनेको चाहिँ सन्तुष्टि रहेछ । अब कहिलेकाहीँ अल्छी लाग्छ, जागिर खानेहरुलाई हेर्दा चिटिक्क परेर हिडेको देख्छु । विदेश जानेहरुलाई हेर्दा अलि धेरै पैसा कमाउछन् जस्तो लाग्छ । तर म खुसी नै छु । कमसेकम आफ्नो दु:खको कमाइ आफैसँग हुन्छ । दुखै गरेर भए नि जहानलाई खान लाउन पुगेको छ । यसो मिठोमसिनो खान अरुसँग हात जोड्नु परेको छैन । अल्छि लाग्दा सुत्दिन्छु भने पनि कसैले केही भन्दैनन् । मलाई त आनन्दै लाग्छ हो आजकल । तर यसो भन्दैमा सधैँ यसैमा मात्र अल्झिएर पनि हुन्न जस्तो त लाग्छ तर अहिलेलाई ठिक छ । खुसी नै छु ।
-अनि अबको योजना के छ ?
अब बाहिरको लागि प्रोसेस गर्दै छु । बुद्धि बिगारेर पढाइ छोडी हालेँ । अब अहिले काम गर्दै भाषा पढ्दै गरिरहेको छु । सकेसम्म बाहिरजान्छु । भएन भने यही पठाओ गरेरै पनि जीवन चल्छ । अहिले त याङ्गो, इन्ड्राइभहरु पनि आएका छन् । त्यता पनि जोडिएको छु । जे होस् केहीए समय यसैबाट पैसा जोगाउछु । अनि बाहिर जाने कुरा मिलेन भने नेपालमै केही गर्छु भन्ने सोचेको छु । बेला बेलामा म कविता, गजलहरु पनि लेख्ने गर्छु । समयले साथ दियो भने एउटा किताब निकाल्न मन छ । यही हो अब बुढीसँग, दाइहरुसँग सल्लाह गर्नु पर्छ ।
- काम नगरेर त्यत्तिकै बसेका युवाहरुलाई के भन्न चाहनु हुन्छ ?
हुन त सबैको आफ्नो आफ्नौ जिन्दगी हुन्छ । मेरो र अरुको सोचाइ नमिल्न सक्छ । हरेकको आफ्नो आफ्नै सोचाइ हुन सक्छ । तर केही नगरी बस्नु भन्दा केही न केही चाहिँ गरेको राम्रो भन्छु । पठाओ नै चलाउनु पर्छ भन्ने पनि छैन । सानो सानो चिया पसलहरु खोलेर, चटपटे नै बेचेर पनि आफूलाई पुग्ने पैसा कमाउन सकिन्छ । यतिकै हल्लिएर हिँड्नुभन्दा जे भए नि काम चाहिँ गर्नु पर्छ । काम सानो ठूलो हुन्न । जे भए नि गर्दै गएसी अगाडिको बाटो नि भेटिँदै जान्छ । मिहिनेत गर्यो भने हरेक क्षेत्रबाट आम्दानी लिन सकिन्छ । त्यही हो, दु:ख गर्न सिक्नुस् भन्छु ।