.jpg)
प्रतिनिधिसभाको आजको बैठक जारी छ ।
सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ः१५ बजे बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८३÷८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
सोही बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यसअघि बुधबारको बैठकमा उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेकामा विपक्षी दलले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध गरेपछि आजका लागि कार्यसूची सरेको हो ।
आज बैठक सुरु भएपछि बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभए विरोध जारी राख्ने बताएका छन् ।
उनले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् । राईले प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने र नभए विरोध जारी रहने बताएका हुन् ।
आज पनि प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित हुने कुनै सम्भावना देखिदैन । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसुची रहेका छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुने
बैठकमा अर्थमन्त्री डा वाग्लेले ‘आव २०८३÷८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।