काठमाण्डौँ , साउन २५ :

संघीय संसद अन्तर्गत आज विभिन्न ६ वटा समितिका बैठक बस्दै छन् । आज अर्थ, कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुने कार्यक्रम रहेको सभापति बिमला सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो साढे १२ बजे  बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै, दिउँसो २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायाममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था र समग्र स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।