.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारसँग समसामयिक, पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा सक्रिय न्युजले गरेको कुराकानी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरीको अनुसन्धानका क्रममा हिरासतमा गएसँगै पार्टी अन्योलमा छ । भरखरै बसेको केन्द्रीय समितिको बैठकले पार्टीलाई गतिशील र चलायमान बनाउँछ अब ?
पहिलो कुरा स्वाभाविक रुपमा पार्टीका शीर्षस्थ नेता जसरी अप्रत्यासित रुपमा एउटा घटनामा मुछिँदाखेरी र त्यो तहको एउटा राजनीतिक प्रतिशोध साँधिदाखेरी सिंगो पार्टी अलमलमा पर्नु स्वभाविक हो । त्यो कुनै ठुलो कुरा भएन । तर त्यसमा अलमलिएर मात्र बसेको पनि छैन । हामीले त्यसबीचमा पार्टीका सांगठनिक, वैचारिक रुपमा स्पष्ट पार्ने कुराहरु, पार्टीका दैनन्दिन हुने कामहरु गरी नै रहेका छौं । हामीलाई केही पनि भएको छैन भन्ने तर्क म गर्दिनँ । किनभने, पार्टीलाई स्थापनाकालदेखि यहाँसम्म ल्याउने नेतृत्व नै सक्रिय राजनीतिमा नहुँदा, पार्टीका दैनन्दिनका कामहरु गर्न नपाउँदा अलमलिने कुरा स्वभाविक रह्यो । त्यो केही समय रह्यो । यद्यपि अहिले पनि त्यो केही हदसम्म रहन्छ । जहाँसम्म पुस २० र २१ गतेको केन्द्रीय कमिटीको बैठक छ, त्यसले पार्टीको संगठन निर्माणमा हामीले विगतमा संगठन निर्माणका लागि गरेको कामहरुको पनि समीक्षा गर्यौं । र अब उपरान्त पनि हामीले पार्टी संगठन निर्माणमा निश्चित कार्यक्रम गर्ने भनेर माघदेखि दुईमहिने कार्यक्रम ल्याएका छौं । बैठक एकदमै सौहार्दपूर्ण तरिकाले, एकदमै समीक्षा गरेर समकालीन सबै विषयहरुमाथि छलफल भएको छ । यो बैठकले पार्टीको संगठन निर्माणलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाउने निर्णय गरेको छ ।
रास्वपाले पार्टी सञ्चालन र संगठन विस्तारभन्दा पनि सभापतिकै मुद्दामा मात्रै केन्द्रित भयो भन्ने आरोप पनि लागेको छ नि ?
यो हाम्राबारेमा जानकारी नराखी बोलिएको हो कि जस्तो लाग्छ मलाई । किनभने हामी पार्टी सभापतिलाई हिरासतमा लगेपछाडिका पहिला केही दिनहरुमा हामीले राजनीतिक रुपमा त्यो घटना के हो भन्ने स्थापित गर्नु थियो । त्यसमा हामीले केही प्रतिरोधहरु, जनतालाई केही सुसूचित गर्ने काम पोखरामा गर्यौं । लगत्तै त्यसपछाडि हेर्नुहुन्छ भने हामीले ६१/६२ वटा जिल्लाको भेला सकिसकेका छौं । यसर्थ हाम्रो कार्यक्रमहरु, हामीले के गरिरहेका छौं भन्ने कुरा ध्यान नदिईकन कास्कीलाई मात्र हेरेर, सुनियोजित रुपमा रवि लामिछानेका बारेमा आएका समाचारहरुलाई मात्र हेरेर यस्तो भनिएको हुनसक्छ । त्यो गल्ती गरेर, थाहा नभएर भनिएको हो भने मैले यहाँहरुमार्फत विनम्र अनुरोध गरें कि हामी हाम्रो पार्टीको संगठन निर्माण, विचार, विमर्श निरन्तर रुपमा गरिरहेका छौं । होइन अब थाहा भएर पनि भनेको हो भने त्यसमा खास भन्नु केही पनि छैन । एउटा अफ्ठ्यारो अवस्था आइरहँदा पनि हामी संगठन निर्माणको काम अगाडि बढाइरहेका छौं ।
केन्द्रीय समिति बैठकमा सभापति लामिछानेको विषयमा कुरा उठ्यो ? यस विषयमा पार्टीको धारणा के हो ?
पहिलो कुरा त केन्द्रीय कमिटीमा पार्टीका कार्यवाहक सभापतिले समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्नुभयो । आफ्नो समीक्षात्मक टिप्पणी केन्द्रीय कमिटीसामु राख्नुभयो । त्यसैगरी उपसभापतिले पनि राख्नुभयो र त्यहाँ उपस्थित सबै केन्द्रीय कमिटीका साथीहरुले आ-आफ्नो धारणा राख्नुभयो । त्यो धारणा राखिरहँदा आजको दिनमा पार्टी सभापतिको घटनालाई अनदेखा गरेर त्यो धारणा पूर्ण हुन सक्दैन । अर्को कुरा यो विषय अदालतमा छ, अदालतमा भएको विषयमा मैले धेरै बोल्न जायज ठान्दिनँ । बोल्नु पनि हुँदैन । किनभने हामी कानुनी शासनमा विश्वास गर्छौं । हामी त अझ बढी लोकतान्त्रिक, अझ बढी संविधानवादमा विश्वास गर्ने पार्टी भएको हुँदा आज-भोलि नै सम्मानित अदालतले थुनछेकको आदेश गर्ने भएकाले अदालतमा भएको कुरामा धेरै छलफल नगरौं । मात्र के भने हामीलाई अदालतप्रति विश्वास छ । अदालतले न्याय सम्पादन गर्छ । हामी त्यसकै पर्खाइमा छौं ।
तपाईंको सभापति सहकारी प्रकरणमा, सम्पत्ति शुद्धीकरण, संगठित अपराधजस्तो मुद्दा खेपेर अहिले प्रहरी हिरासतमा हुनुहुन्छ । यसले पार्टीलाई कमजोर बनाउँछ भन्ने लाग्दैन ?
पार्टीलाई कमजोर बनाउँछ र बनाउनकै लागि यो सबै भएको हो । तर हामी त्योबाट बच्नुपर्छ । हामीले त्योबाट पार्टीमा सभापतिको अभाव, उहाँको सक्रियता, उहाँको गतिशीलता, उहाँको प्रभावकारिता, आमजनतासँग निरन्तर गर्ने उहाँको संवादको अभावका बाबजुद पनि हामीले पार्टी निर्माण गर्नु र पार्टीलाई अगाडि बढाउनुको विकल्प छैन । पार्टी कमजोर बनाउने प्रयास त सदैव रहिरहन्छ । आज मात्रै होइन भोलि पनि । यो मल्टी पार्टी सिस्टममा निरन्तर भइरहन्छ । हामी जतिवेलासम्म एउटा मास सोसाइटी, गुणात्मक राजनीतिक दर्शन, आधार, त्यसको चर्चा-परिचर्चामा हेरेर पार्टीलाई छान्दैनौं त्यतिवेलासम्म एकले अर्कोलाई निषेध गर्ने हुन्छ । यो नहोस् भन्ने चाहना हो । त्यो हुन्छ । हामीले त्यसलाई पार गरेर जसरी पनि पार्टीलाई अगाडि लानुपर्ने हुन्छ ।
हुन त पार्टीले संगठन निर्माण अभियान बल्ल सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाखमै महाधिवेशन पनि गर्ने भनिएको छ । समय पुग्छ त ?
आजको दिनसम्म हामीले संगठन निर्माणमा गरेको कामहरुको गति हेर्दा अलि मिहिनेत गर्यौं भने सक्छौं । वैशाखमै गर्न सक्छौं । हामीले अलि मिहिनेत गरेनौं, गतिशील भएर काम गरेनौं भने त्यो नसक्ने सम्भावना पनि छ । तर आजको दिनसम्म हामी राष्ट्रिय भेलाबाट सभापतिले नै घोषणा गरेको मितिमै पार्टी महाधिवेशन गर्ने भन्ने भावनाकै साथ काम गरिरहेका छौं ।
स्थानीय तहहरुमा, वडा तहहरुमा पुग्नैपर्ने हुन्छ । भ्याइन्छ त वैशाखमै महाधिवेशन गर्न ?
हामी अहिले जिल्ला भेला सकेर पालिका भेलामा, वडा भेलामा साथीहरु केन्द्रिकृत हुनुहुन्छ । अहिले हामी लगभग पुसको अन्त्यतिर छौं । माघ, फागुन, चैत ३ महिनामा हामीले धेरै काम गर्न सक्यौं भने हामीले भनेको मितिमा पार्टी महाधिवेशन हुन्छ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा रास्वपाको अवस्था खासै सुखद देखिएन नि, किन होला ?
अस्तिको केन्द्रीय कमिटी बैठकमा एउटा महत्त्वपूर्ण एजेन्डा स्थानीय तहको उपनिर्वाचनको समीक्षा पनि थियो । त्यसमा काठमाडौं १६ एउटा जित्यौं । बाँकी हामीले जहाँजहाँ उम्मेदवारी दियौं त्यहाँको मतका हिसाबमा हाम्रो स्थिति सोचेको भन्दा धेरै नै नराम्रो देखियो । यद्यपि यो हामीलाई स्वीकार्य छ र यसले हामीलाई एउटा ऐना देखाइदिएको छ । सहरी क्षेत्रमा हाम्रो प्रभाव अलि देखियो । अलिकति दूरदराजमा जाँदा हामीले आफ्ना कुरा पुर्याउन नसकेको, हाम्रो उपस्थिति अलि कमजोर देखियो । यसकै प्रभाव अस्तिको चुनावमा देखिएको हो । यो सत्यलाई स्वीकारेर हामीले संगठन निर्माणमा र परपरसम्म स्वतन्त्र पार्टीको राजनीतिक मुद्दाहरु हामीले लानुपर्छ भन्नेमा एकमत भएका छौं । स्थानीय तहको उपनिर्वाचन हाम्रा लागि राम्रो रहेन तर अर्को अर्थमा राम्रो के रह्यो भने हामी संगठनमा कति कमजोर रहेछौं र हामीले संगठनमा कुन हदका साथ काम गर्नुपर्छ भन्ने कुरा हामीलाई बाटो देखाइदिएको छ ।
सभापति हिरासतमा भएका कारणले उपनिर्वाचनमा यस्तो अवस्था आएको पनि भनिन्छ नि ?
यो राजनीतिक सामाजिक घटना कुनै एउटा विशेष कारणले मात्र हुँदैन । त्यसका धेरै कारणहरु हुन्छन् । त्योमध्ये यो एउटा कारण नहोला भन्न सकिँदैन । किन भने यो स्वभाविक रुपमा पार्टीको शीर्षस्थ नेताले संवाद गर्न नपाउँदा, निरन्तर गर्ने राजनीतिक कार्यक्रम गर्न नपाउँदा, मान्छे नै भेट्न नपाउँदा स्वभाविक रुपमा यसले केही न केही असर त गर्ने नै भयो । मुख्य कुरा त हामीले बनाउन नसकेको संगठन नै हो । हाम्रो विचारको सम्प्रेषण नै हो । तथापि सभापतिज्यूमाथि जुन किसिमको प्रतिशोध भइरहेको छ त्यसले पनि थोरबहुत त्यसको पनि भूमिका त रहने नै भयो ।
यो प्रतिशोध नै हो ? के लाग्छ ?
यो त हामी सबै जानकार नै छौं । त्यो प्रतिशोध नै हो । यसमा धेरै कुरा देखियो नि अहिले । आजभोलि अन्य त्यस्तै केसमा भएका घटनाहरु धेरै तानिरहनुपर्ने जरुरी छैन । किनभने हामीहरु अदालती प्रक्रियामा पुगी नै सक्यौं । त्यसमा त्यो स्थापित हो । त्यो संकथन राजनीतिक प्रतिशोध नै हो भन्ने स्थापित नै भइसक्यो ।
केन्द्रीय समितिको बैठकले यहाँकै संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल २०८१ गठन गरेको छ । संविधान संशोधनको सवालमा रास्वपासँग सरकारले केही संवाद गरेको छ ? के गर्छ रास्वपाले ?
कांग्रेस र एमालेले पछिल्लो गठबन्धन बनाउने क्रममा जुन किसिमको कथाहरु बुनियो त्यो मध्येको एउटा संविधान संशोधनको कुरा राखियो । यो कथा इमानदार कथा हो भन्ने हामीलाई लाग्दैन पहिलो कुरा । दोस्रो- यो संविधान बनाइरहँदा संविधान संशोधनको धारणा त्यहाँ छ । र हामीले हरेक १० वर्षमा संविधानको पुनरावलोकन गर्ने पनि भनेका छौं । संविधानको भाग ३१ को धारा २७४ ले त संविधान कसरी संशोधन गर्ने भनेर प्रावधानहरु पनि राखेको छ । यसमानेमा एउटा गतिशील दस्ताबेजका रुपमा संविधानलाई निरन्तर परिष्कृत गर्दै अगाडि लैजाने कुरा त संविधानवादभित्रको एउटा महत्त्वपूर्ण कुरा नै भइहाल्यो । जहाँसम्म रास्वपाको स्थापनाकालदेखि नै हामीले संविधानमा संशोधन गर्नुपर्ने केही कुराहरु हामीले राजनीतिक मुद्दाका रुपमा उठाएका छौं । जस्तो शासकीय स्वरुपका विषयमा, राष्ट्रपति-उपराष्ट्रपतिको विषयमा, अन्य केही विषयहरुमा पार्टी स्थापना भएको दिनदेखि हाम्रो पनि मुद्दा हो । अहिले सरकारले एउटा ठाउँमा त ल्यायो, अहिले संवाद गरिसकेको त छैन । तर हाम्रो कुरा के हो भने- यो संविधान संशोधन गरिरहँदाखेरी यसलाई अझ बढी जनताको पक्षमा, अझ बढी न्यायको पक्षमा, अझ बढी समावेशी, अझ बढी लोकतान्त्रिक बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो । अहिले भएका व्यवस्था यो वा त्यो मानेमा अहिलेभन्दा पछाडि फर्कन पाइँदैन । संविधान भनेको आज जनताले जति अधिकार पाएका छन् योभन्दा बढी अधिकार पाउनुपर्छ । यो संविधानपछि जति न्यायसम्पादन हामीले गर्यौं त्योभन्दा बढी न्याय सम्पादन हुनुपर्छ भन्ने हो । तर यसरी अमूर्त रुपमा हुनेवाला त छैन, यसर्थ एउटा जिम्मेवारपूर्ण पार्टीका हिसाबमा उहाँहरुले संवाद गर्न आवश्यक छ । अस्तिको केन्द्रीय कमिटी बैठकले एउटा कार्यदल बनाउनुपर्छ र यो कार्यदलले काम गर्न सुरु गर्नुपर्छ भनेपछि पार्टीका सबै नेताहरुले यो त तपाईंकै नेतृत्वमा बनाउँदा राम्रो हुन्छ भनेपछि मैले पनि यो ऐतिहासिक जिम्मेवारी, यत्ति महत्त्वपूर्ण कुरामा मैले पनि यसमा मिहिनेत गरेर, यसमा केही काम गरे हुन्छ भनेर मेरो संयोजकत्वमा नौ सदस्यीय एउटा कार्यदल बनेको छ । त्यो कार्यदल पहिलो बैठक भरखर सकेर, बैठकको कार्यविधि पास गरेर, सदस्यसचिव पार्टीका साथी गणेश कार्कीलाई बनाएर भरखरै म यहाँसम्म आउँदै छु । हामीले गर्न खोजेको कुरा के हो भने- समाज निरन्तर परिष्कृत हुने कुरा हो । निरन्तर अगाडि लानुपर्छ र त्यो लानलाई हामीले हाम्रो मिहिनेत, हाम्रो परिश्रम, हाम्रो अनुभव र त्यो ज्ञानलाई सिँचित गर्नुपर्छ । संविधान संशोधनको जो हाम्रो कार्यदल बनेको छ । यो नि:तान्त त्यो संविधानको धारा, उपधारा अध्ययन गर्ने कुरा मात्र होइन, समाजसँग पनि संवाद गरेर, योसँग सम्बन्धित सबैसँग संवाद र छलफल गरेर हिजो हामीले कहाँसम्म गर्यौं ? हिजो गर्न नसकेको कुरा के थियो ? आज गर्नुपर्ने कुरा के हो र त्यसले गर्दा भोलि के प्रभाव पर्छ ? नेपाली समाजको रुपान्तरणमा के प्रभाव पर्छ भन्ने कुरामा हामीले गहिरो अध्ययन गर्छौं । हाम्रो यो अध्ययन गर्ने, सबैसँग छलफल गर्ने, पार्टीको आधिकारिक धारणा बनाउने र अन्य पार्टीहरुसँग संविधान संशोधनका विषयमा अझ हामीले परिमार्जन भनेका छौं । परिमार्जन भन्ने शब्द नै संशोधनभन्दा फरक छ । यद्यपि त्यो संसदीय अभ्यासमा संविधान संशोधन नै भनिन्छ । तर संशोधनभन्दा परिमार्जन खँदिलो हो । त्यसले गुणात्मक संशोधनको परिकल्पना गर्छ । हामीले परिमार्जन भनेका छौं । यो कार्यदल त्यसका लागि बनाइएको हो । हामी तल तल जनतासमक्ष गएर यो संविधानलाई अध्यावधिक गर्न चाहन्छौं ।
पार्टीमा संसदीय दलको नेता को बन्ने भन्ने विषय निकै पेचिलो पनि भइरहेको छ । यसमा के भन्नुहुन्छ ?
यो बहस त्यति धेरै मुखरित भएको छैन । किन भने पार्टीको सभापतिको कार्यवाहक उपसभापति हामीले डोलप्रसाद अर्याललाई तोक्यौं । संसदीय दलको नेताचाहिँ हामीसँग अलि समय भएको भएर, यता अधिवेशन पनि नबोलाइएको र यता सभापतिज्यूको पनि न्यायसम्पादन हुँदा उहाँ पुन: आफ्नै ठाउँमा फर्किने सम्भावना प्रबल भएको हुँदा अहिले यो बहस हामीले त्यति धेरै गरेका छैनौं । यद्यपि त्यो सबै नभएको अवस्थामा नयाँ अधिवेशन सुरु गर्दा दलको नेता लिएर जाने कुरा स्वभाविक भयो । हामी स्वभाविक विधि-प्रक्रिया, संसदीय दलको विधान, पार्टीको विधान, दलसम्बन्धी ऐन र संविधानसम्मत रहेर गर्ने कुरा भयो । यो गर्नका लागि हाम्रोमा त्यति ठुलो केही पनि समस्या छैन । जतिबेला हामीलाई त्यो आवश्यक पर्छ त्यतिबेला उपयुक्त विधिबाट हामी दलको नेता पनि टुंग्याउँछौं ।
यस विषयमा पार्टीभित्र छलफल भएको छ कि छैन ?
अलिअलि छलफल त भएको हो- कुन विधिविधानबाट बनाउने भनेर । तर यो वा त्यो कुनै व्यक्ति विशेषमा कुरा भएको छैन ।
सभापतिलाई सहकारी ठगीको आरोप लागिरहँदा पार्टी अफ्ठ्यारो अवस्थामै छ । अब पार्टी कसरी अघि बढ्छ ?
यो केन्द्रीय कमिटी बैठकमा म आफैंले पनि २/३ वटा कुरा अनुभव गरेको छु । एउटा कुरा निकै अगाडिदेखि नेपालमा वैकल्पिक राजनीतिक धारको अभियान चलिरहेकै थियो । त्यसले त्यति धेरै मुखर हुन पाएको थिएन । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी दलको रुपमा स्थापित भएपछि यसले निवार्चनमा भाग लिए पछाडि यो वैकल्पिक राजनीतिको एउटा धार स्थापित भयो । र यो अभियानमै छ अहिलेसम्म । किन भने यो नयाँ पुस्ताको, हाम्रो पुस्ताको, मेरै भाषामा भन्नुपर्दा उन्नत आलोचनात्मक चेतको, समाज परिवर्तनको एउटा राजनीतिक हस्तक्षेप हो । यो हस्तक्षेप हरेक पुस्ताले गर्छ । स्वभाविक रुपमा गर्छ । तर हामीलाई लामो समयसम्म त्यो हस्तक्षेप गर्ने ठाउँ कतै पनि राखिएन । विशेषगरी परम्परागत पार्टी र व्यवस्थाले त्यो गर्यो । हामीले कतै ठाउँ नपाएपछि त त्यहाँ हामफाल्ने कुरै भयो । त्यसैको संघर्ष हो जस्तो लाग्छ । अहिले राजनीतिक पार्टीका रुपमा रास्वपाले गर्ने कुरा एउटा छ र यो अभियान निरन्तर लाने कुरा एउटा छ । जतिसुकै अफ्ठ्यारा र जतिसुकै व्यवधानहरु आए पनि मलाई के लाग्छ भने हाम्रो उदविकासको नियमले पनि त्यही भन्छ कि समाज निरन्तर अगाडि जान्छ । जाने क्रममा नयाँ ज्ञान, नयाँ अनुभव, नयाँ व्यक्ति, नयाँ घटनाहरु जोडिँदै आउँछन् त्योमध्येको एउटा घटना रास्वपा हो । र यो निरन्तर अगाडि जान्छ । कथं रास्वपामा कुनै व्यवधान आयो भने अर्कोले यो अभियानलाई अगाडि लैजाने कुरा त भइरहाल्यो । यो निरन्तर जान्छ ।
रास्वपा अभियानका रुपमा मात्रै अघि बढ्यो, यसको सिद्धान्त छैन भनिन्छ, के भन्नुहुन्छ ?
पहिला पार्टी सुरुवात गर्दा धेरै कुरा जुगाड गरिएको थिएन । हतारोमा सबै काम गरियो । असारमा पार्टी दर्ता गरियो । हामी मंसिरमा चुनाव लड्नुपर्ने थियो । त्यो बीचमा अन्य पार्टीको जस्तो इतिहास हामीसँग खोजेर त पाइएन । समाजविज्ञानमा एउटा घटना मात्र हुँदैन । त्यो घटना अरु प्रतिघटनाहरुसँग जोडिएको हुन्छ । सुरुमा त हामीसँग नभएकै हो । हामीले एउटा बेथितिका विरुद्ध, भ्रष्टाचारका विरुद्ध, सुशासनका लागि भनेर अभियान छेड्यौं । जब हामीले जलेश्वर बैठक गर्यौं । जलेश्वर बैठकपछि पार्टीका उपसभापति स्वर्णिम वाग्ले र मैले विशेषगरी एउटा प्रस्तावनामा काम गर्यौं । त्यो प्रस्तावना जलेश्वर बैठकले पास गर्यो । असोज १/२ गतेको भेलामा सोही प्रस्तावनाको अझ १० पेज व्याख्या गर्यौं । आज हामी सामाजिक न्यायसहितको लोकतान्त्रिक र समाजवादसम्म जाने, एउटा उदार अर्थतन्त्रलाई विश्वास गर्ने र निजी क्षेत्रलाई फराकिलो बनाउँदै, राज्यको आयको दायरालाई फराकिलो बनाउँदै सामाजिक न्यायमा काम गर्दै समाजवादका प्रधान लक्ष्यहरु शिक्षा, स्वास्थ्य, रोजगारी संविधानमै ग्यारेन्टी गरेर त्यसलाई प्राप्त गर्ने एउटा राजनीति विचारका रुपमा अघि बढेका छौं । समस्या के हुँदो रहेछ भने- जसले रास्वपाको केही छैन भनेर टिकाटिप्पणी गर्छन् उनीहरुलाई आफ्नै पार्टीको दस्ताबेज त पढ्ने फुर्सद छैन । हाम्रो पढिदिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ तर पढ्नु हुँदैन र यस्ताखाले टिकाटिप्पणीमा लाग्नुहुन्छ । हिजो हामीलाई त्यो भन्न मिल्थ्यो, आज मिल्दैन । यद्यपि यत्तिले पुग्दैन । यसमा गर्नुपर्ने कामहरु, त्यो सिद्धान्तमा आधारित विचार र विचारमा आधारित कार्यक्रम लिएर हामी स्थापित हुन बाँकी छ यसका आधारमा भनिएको होला । अन्यथा अहिले हामी स्पष्ट रुपमा एउटा पार्टी, एउटा वैचारिक अवधारणाको पार्टी बनिसकेका छौं ।
पार्टीभित्र सभापति, महामन्त्री, प्रवक्ता सबै कार्यवाहक यसमा यहाँको धारणा के छ ?
अलि संक्रमणकालमा कहिलेकाहीँ यस्तो हुने गर्दो रहेछ । कार्यवाहक सभापति ठीकै हो किनभने सभापति म्युट भएको अवस्थामा भएको हो । तर कार्यवाहक महामन्त्री कार्यवाहक राखिराख्नुपर्ने त थिएन यद्यपि यसमा पनि हामी अलमलिएका छौं । यो विषयमा पार्टीमा कुरा भएको छ । कार्यवाहक नै धेरै भएर यसको कानुनी हैसियत, राजनीतिक उचाइ र भोलि गर्ने कामको निर्णयको विश्वसनीयतामा पनि प्रश्न आउन सक्छ भन्नेमा हाम्रो छलफल भएको छ । लामो समय यसरी कार्यवाहकमै त जाँदैन । यसले पार्टीलाई कमजोर पनि बनाउँछ ।