काठमाडौँ, माघ ११ :

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा सतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरू खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाइ ल्याउँछ । जसको भार मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । केएमसी अस्पतालका मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठले संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात भएकाले समयमै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । प्रस्तुत छ मुटुरोग विशेषज्ञ डा. महासेठसँग गरेको कुराकानीको अंश ।

मुटुमा समस्या भएको कसरी थाहा पाउने ?
मुटु रोग भनेको मुटुमा समस्या आउनु हो । यसमा विभिन्न समस्याहरु पर्छन् । त्यसमा वंशाणुगतदेखि लिएर बूढो मान्छेमा लाग्ने रोगहरू हुन्छन् । वंशाणुगत भन्नाले मान्छे गर्भमा रहँदाखेरिको रोग हो । जस्तै मुटुमा प्वाल परेको, मुटुको बनावटमा गडबडी भएको मानिन्छ । मान्छे जन्मेपछि पनि मान्छेको मुटुमा विभिन्न रोगहरू लाग्छन् । हाम्रो देशहरुमा चाहिँ कमन हार्ट डिजिजहरु भन्छन् । त्यो अन्य देशमा पाइँदैन हाम्रो देशमै बढी पाइन्छ । यसलाई मुटुको बाथरोग भन्छ । तर संसारमा बुझ्ने भनेको मुटु रोग भनेको हृदयघात नै हो । ब्लड प्रेसर पनि मुटु रोगको प्रमुख कारण हो । त्यस्तै सुगर भएको मान्छेमा हुने हार्ट अट्याक, हार्ट फेलियर, मुटुको चालमा गडबड हुने रोगहरु मादक पदार्थ सेवन गर्दा हुने रोगहरु यस अन्तर्गत पर्दछन् । फोक्सो जस्तै मुटुको पनि खोलभित्र पानी जम्ने पेडियोकाली रिफ्युजनहरु, किड्नि प्यासेन्टलाई हुने रोगहरु हो । यस्ता रोगहरु धेरै भएपनि संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात नै हो ।  

के कारणले हृदयघात बढी हुने गर्दछ ?
हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अङ्गहरूमा रगत पुर्याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसाहरूमा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ । यो जुनसुकै नसामा पनि हुनसक्छ । यो अचानक पनि हुनसक्छ र बिस्तारै पनि हुनसक्छ । एक्कासि भएको अवस्थामा हामी हृदयघात भन्छौँ । बिस्तारै भएकोलाई चाहिँ एनजाइना भन्छौँ । यो बढ्दै गएपछि हृदयघात हुनसक्छ ।

हृदयघात वृद्धवृद्धालाई भन्दापनि युवा अवस्थाका मान्छेहरूमा बढ्दै गएको हो ?
पछिल्लो समय तपाईंले भनेजस्तै २० देखि ३५ वर्ष सम्मका बिरामी पनि उपचारका लागि आउने गर्नुहुन्छ । हृदयघात भनेको जीवनस्तर अनुसारको रोग हो । पहिलेका मान्छेहरुसँग पैसा थोरै थियो, बढी काम हुन्थ्यो । दिनभर स्वस्थ काम गर्थे । अहिले दिनभर अफिसमा कम्युटरमा बस्छन् । खानपनि जंकफुड खाने गरिन्छ । कसैलाई पनि खाना पकाउने फुर्सद छैन । यसमा धुम्रपान सेवन पनि गर्ने कारणले यस्तो समस्याहरू बढदै गएको हो । यिनै समस्याका कारण ५० वर्षपछि देखिनुपर्ने रोगहरू आजभोलि कम उमेरमा देखिरहेका छौं । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणले चुरोट सेवन हुनु अध्ययनले देखाएको छ । अर्को कुरा पछिल्लो समय मान्छेरुको शरीरमा कोलेस्ट्रोल बढी बन्ने र शरीरमा भएको कोषहरुले त्यो कोलेस्ट्रोल लिन नसक्ने भएको छ । यसले मुटुको नसाहरू ब्लक गरिदिने गर्छ । यसले गर्दापनि हृदयघात बढिरहेको छ । अनिे मुख्य कुरा त घरको खाना नखाएर बजारको खानेकुराहरु बढी खाइरहेका हुन्छौं । यसले गर्दा खानपिनमा आएको परिवर्तन, सुगरले पनि शरीरमा कोलेस्ट्रोल नै बढाउने हो । बच्चाबेलादेखि नै हाम्रो बानी पहिलेको जस्तो छैन बिग्रिएको छ । त्यसले गर्दा एकदमै युवा अवस्थामा नै हृदयघात देखिरहेको छ ।

मुटु रोगबाट बच्नको लागि खानाको सन्तुलन कसरी मिलाउने ?

खानाको सन्तुलनको कुरा गर्दा हाम्रो शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पाइने गरी खाइरहेका छौं । मैले दिनभरमा कार्यालयमा बस्छु, काम गर्छु भने मलाई धेरै क्यालोरी चाहिँदैन । बिहानदेखि साँझसम्म खेतमा काम गर्ने मान्छे छ भने उसलाई क्यालोरी बढी चाहिन्छ । हाम्रो शरीरलाई अरु सुगरको जरुरत छैन । बरु मान्छेलाई बोसोको जरुरत हुन्छ तर सुगरको जरुरत हुँदैन । प्रोटिनको जरुरत हुँदैन । हामीले चिनी खानु हुँदैन । त्यसलाई खानु हुँदैन । यसमा सिम्पल कुरा राख्ने हो भने प्राकृतिक कुराहरु खाने हो । जुट र कम्पनीमा पनि बनेका खानेकुराहरु खाने होइन । हामीले आफ्नो शरीरको मागअनुसारको खाना खाने हो । हामीले बढी खाना खायो भने पनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने हो ।

कुन उमेर समूहको मान्छेलाई मुटु रोगको जोखिम हुन्छ ?
अहिले पनि सामान्यतः मुटुसम्बन्धी रोग बढी लाग्ने भनेको ४५ वर्ष केटेको मान्छेमा नै हो । तर पछिल्लो समय युवा अवस्थाको मान्छेमा पनि भेटिन थालेको छ । विषेश गरी चुरोट खाने मान्छेमा । नेपाल र नेपालबाहिरको अध्ययनले खासगरी चुरोट खाने मान्छेमा हृदयघात हुने देखाएको छ । त्यसबाहेक कसैलाई पारिवारिक पृष्ठभूमिको आधारमा पनि हुने गर्दछ । तर अहिले पनि कमनल्ली भन्ने हो भने हृदयघात ४५ वर्ष कटेपछि मात्रै हो । जंकफुडहरु, चुरोट, मादक पदार्थ पिउने, शारीरिक अभ्यास नगर्ने र खाएको पनि नपचाउने बानीले हामीमा मुटु रोगको जोखिम बढाउँदै जान्छ । त्यसकारणले शरीरमा बनेको क्यालेस्ट्रोलले कहीँकहीँ त अटाउनु पर्यो नि । कि त नसामा कि त मुटुमा, कि त शरीरमा त्यहाँ नअटाएको खण्डमा उमेर बढ्दै गएपछि हृदयघात हुने हो ।  

खानपानसँगै मुटुको स्याहार कसरी गर्ने ?
चुरोट सेवन गरेर मात्र हृदयघात हुन्छ भन्ने त कुनैपनि अध्ययनमा छैन । तर चुरोट खाने मान्छेमा चुरोट नखाने मान्छेभन्दा तीन गुणा बढी नै हृदयघात भएको देखिएको छ । यो चाहिँ अध्ययनले देखाएको छ । हृदयघात भनेको हाम्रो जीवनशैलीको आउटकमको रुप हो । कसैलाई हुनसक्छ । तर कसैलाई हृदयघात नभईकन चुरोट सेवनका कारण क्यान्सरले पहिले नै मृत्यु पनि हुनसक्छ । हामीले मेडिकल साइन्समा सम्भावनाको कुरा गर्ने हो । कसैलाई डायबिटिज पनि छ, प्रेसर पनि छ । परिवारमा मुटु रोग पनि भएको छ र उसले चुरोट पनि सेवन गर्छ भने उसको हृदयघात हुने सम्भावना अझै बढी भयो । कसैको परिवारमा सुगर र प्रेसर पनि छैन, डायबिटिज पनि छैन र कोलेस्ट्रोल पनि छैन भने हृदयघात हुने सम्भवना न्युन हुन्छ । त्यस्तो मान्छेले चुरोट खायो भने पनि हार्ट अट्याक हुने रिस्क एकदम कम होला । तर हुँदै नहुने भन्ने हुँदैन । यो विज्ञान हो हुन्छ नै र हुँदैन भनेर भन्न चाहिँ अलि गाह्रो नै हुन्छ । अर्को कुरा खानपानको कुरा गर्ने हो भने इटालीतिरका मान्छेमा हृदयघात कम भएको देखिएको छ । किनभने उनीहरुले खाने खानामा जुन तेल हुन्छ नि त्यसमा प्राकृतिक तेलहरु हुन्छ । बीउबाट बनेको त्यसको मात्रा बढी हुने र माछामासुमा पनि लिन फ्याडहरु खाने गरेको पाइन्छ । चारखुट्टे जनावर होइन कि अरु नै खानाका जनावरहरुको मासु खाने देखिएको छ । खानपिनमा तपाईले फ्याक्ट्रीहरु बनेको प्रशोधित खानेकुरा कम खानुपर्यो । र पशुजन्य मासु कम खानुपर्याे। यसमा चारखुट्टे जनावरको मासु भयो र दुधबाट बनेको परिकारहरु घ्यु, बटर, चिजको मात्रा कम गर्ने र खानामा सलाद र अन्य अन्नहरुको मात्रा राखेर गर्नुभयो भने त्यो सबैभन्दा बेस्ट हुन्छ ।  

जाडो समयमा मुटुसम्बन्धी समस्याहरू बढ्दै जाने हुन् ?
यसमा दुईवटा कुरा छन् । मौसम परिवर्तन र वातावरणमा आएको परिवर्तनले निकै फरक पार्दछ । जाडो र गर्मी त भइरहन्छ नै । तर पछिल्लो वर्षहरुमा जलवायु परिवर्तनको कारण वातावरणमा परिवर्तन पनि आइरहेको छ । आजभोलि गरिएको एक अध्ययनले मुटुसम्बन्धी रोगहरुको मेजर इफेक्टरमा चाहिँ स्ट्रेस अथवा एन्जाइटी र दुषित वातावरण पनि छ । अहिले काठमाडौंको वातावरण पनि सामान्य छैन । प्रदुषणले हाम्रो शरीरमा भएको सामान्य क्यालेस्ट्रोललाई अक्सिजन रेडिकलहरु बनाउँदो रहेछ । र त्यही रेडिकलहरु शरीरको रगतमा गएर जम्मा भइदिने हुन्छ । त्यो पनि हृदयघातको एउटा प्रमुख कारण हो । अर्को कुरा चिसो समयमा मुटुको चाल बढ्ने र प्रेसर बढ्ने हुन्छ । मुटुसम्बन्धी समस्या भएका मान्छेलाई प्रेसर बढ्ने र मुुटुको चाल बढ्ने कुरा त्यति राम्रो हुँदैन । त्यसकारण पहिलेदेखि समस्या भएका मान्छेहरूमा हृदयघात हुने सम्भावना चिसो महिनामा धेरै हुन्छ । निमोनिया हुने सिजन पनि भएको हुनाले इन्फेक्सन भएको सात दिन भित्र हार्ट अट्याक भएको अध्ययनले पनि देखाएको छ । 

मुटु रोगको घरेलु उपचार हुन्छ कि हुँदैन ?
मुटु रोग भनेको एक दिनको रोग होइन । यो भनेको ३० देखि ४० वर्षको रोग हो । हामीले बच्चा बेलादेखि नै हाम्रो जीवनशैली सही राख्नसक्यौं भने चाहिँ यस्ता चान्सहरु कम गर्नसक्छौँ । घरेलु उपचार भन्नुहुन्छ भने हामीले गर्नसक्ने भनेको दुई वटा कुरा मात्रै हो । खानपिन राम्रो गर्नसक्छौं र शारीरिक अभ्यास गर्नसक्छौं । हामीले विषेशगरी चिल्लो खानेकुराहरु खानु भएन । प्राकृतिक कुराहरु फलफूल र सलाद लगायतका खानेकुराहरु खानुपर्दछ । अनि उमेर २० वर्ष पुगेपछि एकपल्ट कोलेस्ट्रोलको जाँच गर्ने । परिवारमा प्रेसर मुटुको समस्या भएको छ भने त्यो मान्छेले २० वर्ष पुगेपछि एकपटक जाँच गर्नैपर्छ । होइन भने ४० वर्ष कटेपछि एकपल्ट पे्रसर र सुगरको जाँच गर्नुपर्याे । चुरोट खानु भएन । मादक पदार्थ पनि खानु भएन ।  

हामीले मुटुको सुरक्षा कसरी गर्ने ?
मुटुलाई माया गर्नको लागि शुरुमा त हामीले मुटु रोग हुनबाट बच्नुपर्याे । त्यसको लागि मुटु सम्बन्धी रोगको उपचार खानपिन र शारीरिक अभ्यासबाट नै शुरु हुन्छ । त्यसपछि तपाईले मुटुसम्बन्धी कुनैपनि लक्षण देख्नुभएको छ भने तुरुन्त जाँच गर्नुपर्याे । मुटु बिग्रिनुभन्दा पहिले नै मुटुको उपचार गर्न सकियो भने त्यसको परिणामा राम्रो हुन्छ । तपाईले तीन पटकभन्दा बढी जाँच गर्दा प्रेसर उच्च छ भने तपाईंले त्यसको उपचार गर्नुपर्दछ । त्यसलाई म खानपिनले नै नियन्त्रण गर्छु भनेर बसिराख्नु भएन । प्रेसरको लक्षणहरु देखिएको छ भने तपाईंले औषधि शुरु गर्नैपर्याे । मुटु रोगको लक्षण भनेको छातिमा दुख्ने, स्याँस्याँ हुने ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र मान्छे बेहोस् हुने र रिंगटा लाग्ने प्रमुख कारणहरु हो । हाम्रोमा औषधि नखाने भन्ने छ । तर समस्या भइसकेपछि औषधि खाएर त्यति फाइदा चाहिँ हुँदैन । रोग छ कि छैन भनेर चिकित्सकको सहायतामा कन्फर्म गर्नुपर्याे । त्यसपछि रहेछ भने औषधि शुरु गर्नुपर्याे । 

मुटुसम्बन्धी रोगका लागि सरकारको लगानी पर्याप्त छ ?
वास्तवमा भन्ने हो भने मुटुरोगलाई सरकारले एकदमै ध्यान दिएर हेरेको छ । संसारमा नेपालभन्दा सस्तो मूल्यमा मुटु रोगको उपचार कहीँ पनि छैन । अर्को कुरा जनशक्तिको कुरा गर्नुहुन्छ भने काठमाडौं केन्द्रित चाहिँ छ । काठमाडौं बाहिर भने अहिले पनि जनशक्ति पुगेको छैन । पूर्व र पश्चिममा पनि बिस्तारै स्वास्थ्य क्षेत्रको विकास त हुँदैछ । तर मान्छेमा जनचेतनाको अभाव छ । मान्छेमा हृदयघात भयो भनेपनि ग्यास्ट्रिक भन्ने गरेको पाइन्छ । त्यसकारण जनशक्ति बिस्तार त गर्नुपर्याे । काठमाडाैँमा भने बिस्तारै सबै हस्पिटलहरुमा क्याथल्याबको सेवाहरु बढ्दैछ । मुटुको रोग आजभन्दा तीन वर्षपछि झन अगाडि बढ्नेवाला छ, त्यहीअुसार हामीले तयारी गरेरे अगाडि बढ्नुपर्नेछ । तर गाम्रिण भेगमा जनशक्ति बिस्तार गर्नुपर्ने आवश्यकता छ ।

आम नागरिकलाई तपाईंको सन्देश के छ ?
संसरमा सबैभन्दा बढी मृत्यु हुने रोग मुटुसम्बन्धी नै हो । जसलाई डाइग्नोस गर्नको लागि केही पनि पैसा चाहिँदैन । खालि एउटा चिकित्सकले एउटा ब्लड प्रेसर नापेर पुग्छ । त्यसको सबैभन्दा सजिलो उपचार भनेको एउटा दुई रुपैयाँको औषधि हुन्छ । त्यसलाई दिनको एकपल्ट खाने हो । त्यही भएर मुटुसम्बन्धी मुख्य रोगरुलाई बेवास्ता गर्नुभएन । मुटु रोगसम्बन्धी लक्षण आइसकेपछि त्यसको जाँच गरेर त्यसको उपचार समयमै गर्नुपर्याे । नेपाल एउटा गरिब देश हो । सरकारले पनि धेरे नै सहजता प्रदान गरेको छ । स्वास्थ्य बीमा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष छ त्यसबाट पनि उपचार गर्न सकिन्छ । त्यसकारण सबैले मुटुलाई माया गर्न सुझाव दिन्छु । -न्युज एजेन्सी नेपाल