
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैको सहकार्य जरुरी रहेको बताएका छन् ।
आज (मङ्गलबार) काठमाडौँमा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको बताएका हुन् । साथै मन्त्री पौडेलले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताएका छन् ।
मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठुलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए ।
क्यान्सर निवारणका निम्ति उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै नै काम गर्न जरुरी रहेको उल्लेख गरे । दैनिक चार जनाको मृत्यु हुने तथ्याङ्क आफुहरुसँग उपलब्ध हुने गरेको भन्दै यो अवस्था भयावह बन्दै गएकोले निवारणको स्थितिमा पुर्याउन सबैजना मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक स्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने बताए ।