काठमाडौं, फागुन १२ :

मिनीबसबाट पनौती-काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट ईभी (विद्युतीय) माइक्रोबाट सेवा दिन थालेको छ ।

यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर-तीनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ । कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

‘हामीले गत कात्तिकमै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोहीअनुरुप हाल पाँचवटा ईभी माइक्रो समावेश भएको छ । अरु थप हुँदै छ,’ सैंजुले भने । हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।

हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो ईभी सञ्चालन हुँदै छ । काभ्रे पुण्यवती यातायात कम्पनीले पर्यावरण र प्रविधि र यात्रुका जनघनत्वलाई समेत ध्यानमा राखेर ईभी माइक्रो सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

सैंजुले भने, ‘हाम्रो कम्पनीले बस तथा मिनीबसबाट सेवा दिइरहेका केही ग्रामीण भेकमा जनघनत्वको कमीले गर्दा ठुलो बस सञ्चालन गर्नमा कठिनाइ हुँदै आएको थियो । यही अवस्थालाई ध्यानमा राख्नै यात्रुलाई छिटोछरितो सेवा दिन थोरै सिट भएका इभी माइक्रो सेवा थालिएको हो ।’

स्थापनाकालमा काभ्रे मिनीबस सेवा समितिका रुपमा २०३४ सालमा दर्ता भई हालसम्म डिजेलबाट सञ्चालित बस/मिनिबस सञ्चालन गरिरहेको हालको काभ्रे पुण्यवती यातायात प्रालि(२०७६) नै काभ्रेमा @भी माइक्रो सञ्चालन गर्ने पहिलो कम्पनी बन्न पुगेको छ ।