ललितपुर, फागुन २० :

नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पूर्वअध्यक्षहरुसँग छलफल गरेका छन् ।

समग्र बिमा क्षेत्रलाई सुव्यवस्थित रूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बिमा क्षेत्रको अपेक्षालगायत विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गरेका हुन् ।

छलफलमा प्राधिकरणका अध्यक्ष ओझालाई नियामकीय भूमिका बुझेर काम गर्न पूर्वअध्यक्षहरुले सुझाएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालय कुपन्डोलमा सोमबार भएको छलफलमा प्राधिकरणका पूर्वअध्यक्षहरू माधवप्रसाद उपाध्याय, देवेन्द्रप्रताप शाह र प्रा.डा. फत्तबहादुर केसी सहभागी थिए ।

कार्यक्रममा पूर्वअध्यक्षहरूले बिमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको उल्लेख गर्दै प्राधिकरणको प्रतिष्ठालाई उच्च बनाउने आफ्नो मूल दायित्व ठानेर निडर भई इमानदारीसाथ अगाडि बढ्न सुझाव दिए । प्राधिकरणको नियामकीय भूमिकालाई राम्रोसँग बुझेर अगाडि बढ्न, नचाहिने कुरामा नझुक्न, राजनीतिक हस्तक्षेप हुन नदिन, बिमा कम्पनीहरूलाई नचाहिने काम गर्न नदिन, नहुने कामलाई सिधै ‘हुन्न’ भन्न र आफ्नो विवेकलाई ध्यानमा राखेर काम गर्न उनीहरुले सुझाव दिए ।



यसैगरी, तत्काललाई केही नोक्सान भए पनि राम्रो काम गर्न नछाड्न, संस्थाको हितमा निर्धक्कसँग काम गर्न, प्राप्त सूचनाहरूको पुष्टि गरेर मात्र अघि बढ्न, बिमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरूलाई नियन्त्रण गर्न, बिमा व्यवसायका लागि उपयुक्त वातावरण बनाउन, प्राधिकरणको नियामकीय भूमिकालाई सशक्त बनाउन र कसैको भनाइमा नभएर ऐन तथा नियमअनुसार काम गर्न प्राधिकरणका पूर्वअध्यक्षहरूले सुझाव दिए ।

त्यस अवसरमा अध्यक्ष ओझाले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै थप असल अभ्यासका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले बिमा क्षेत्रलाई सुव्यवस्थित बनाउने सन्दर्भमा विगतका सुझबूझपूर्ण अनुभव, चुनौतीहरूको सामना गर्न तथा समस्या समाधान गर्न चालिएका कदम, प्राधिकरणको नियामकीय भूमिका र बिमा बजारमा आवश्यक हस्तक्षेप लगायतका विषयमा विगतका अनुभवबारे जानकारी प्राप्त गर्न छलफल गरिएको जनाए ।

छलफलमा प्राधिकरणका पूर्वअध्यक्षहरूका साथै प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, निर्देशक कमलप्रसाद रेग्मी र उपनिर्देशकहरूको सहभागिता थियो ।