काठमाडौं, असार ३० :

 

आजको विश्व कूटनीतिको रंगमञ्चमा भारत आफूलाई एक प्रमुख पात्रको रूपमा स्थापित गर्न तीव्र गतिले अघि बढिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँदिल्लीले विकासोन्मुख विश्व, अर्थात् ‘ग्लोबल साउथ’को स्वभाविक आवाज बन्ने, परम्परागत शक्ति संरचनामा सुधारको माग गर्ने र नयाँ विश्व व्यवस्था निर्माणमा निर्णायक भूमिका खेल्ने स्पष्ट  महत्त्वाकांक्षा प्रदर्शन गरेको छ ।

अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरूसँगको बढ्दो सम्बन्ध, ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ को आयोजना, जी-ट्वेन्टीको मञ्चबाट अफ्रिकी संघलाई स्थायी सदस्यता दिलाउने ऐतिहासिक सफलता र ‘भ्याक्सिन मैत्री’ जस्ता कार्यक्रमहरू यसका ज्वलन्त प्रमाण हुन् । यी प्रयासहरूले भारतलाई विश्वको एक जिम्मेवार र उदार शक्तिको रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

पछिल्लो १५ दिनलाइ हेर्ने हो भने प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ देखि ९ सम्म घाना, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको सफल भ्रमण सम्पन्न गरे । यो भ्रमण ‘ग्लोबल साउथ’ सँगको सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन केन्द्रित थियो ।

उनले ब्राजिलमा १७औं ब्रिक्स शिखर सम्मेलनमा सहभागिता जनाए । विभिन्न देशसँग रक्षा, ऊर्जा, व्यापार र डायस्पोरा सम्बन्धमा महत्त्वपूर्ण सहमति गरे । भ्रमणको विशेष उपलब्धि स्वरूप उनलाई घाना, ट्रिनिडाड एन्ड टोबागो, ब्राजिल र नामिबियाले आ-आफ्नो सर्वोच्च नागरिक सम्मानबाट विभूषित गरे र जसले भारतको बढ्दो वैश्विक छविलाई प्रकाशमा ल्याएको छ ।

मोदीको ग्लोबल साउथ रणनीति : ‘विश्वगुरु’ बाट ‘विश्वमित्र’ सम्मको यात्रा
प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय विदेशनीतिले एक विशिष्ट वैचारिक मोड लिएको छ । परम्परागत पश्चिमा केन्द्रित विश्व व्यवस्थाबाट अलग्गिएर विकासोन्मुख राष्ट्रहरूको एक स्वतन्त्र, स्वाभिमानी र एकीकृत आवाज बन्ने  महत्त्वाकांक्षा हरेक कूटनीतिक पहलमा झल्किन्छ । सुरुवाती दिनहरूको ‘विश्वगुरु’ को अवधारणा, जसले भारतलाई एक आध्यात्मिक र बौद्धिक मार्गदर्शकको रूपमा प्रस्तुत गर्थ्यो, अहिले परिमार्जित भएर ‘विश्वमित्र’ को अवधारणामा रूपान्तरित भएको छ । यसले भारत अब उपदेश दिने होइन, बरु साझा समस्याहरूको समाधानका लागि हातेमालो गर्ने एक सहयात्री र मित्र बन्न चाहेको संकेत गर्छ ।

‘जी ट्वेन्टी’ को अध्यक्षता, ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ र अफ्रिकी संघको सदस्यताजस्ता कार्यहरू दक्षिण विश्वको निर्विकल्प प्रतिनिधि बन्ने भारतको गहिरो रणनीतिक प्रयासका उपज हुन् । यसका साथै, आफ्नो सफल डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरलाई अन्य विकासोन्मुख देशहरूसँग निःस्वार्थ बाँड्ने प्रस्तावले भारतलाई समस्याको समाधान दिने एक प्राविधिक मित्र राष्ट्रका रूपमा पनि स्थापित गर्न खोजेको छ । यस्ता क्रियाकलापले भारतको छवि विश्वभर चम्काइरहे पनि यसको वास्तविक धरातलको परीक्षण भने दक्षिण एसियाको भुइँमा भइरहेको छ । जहाँ उसको छवि अझै पनि धमिलो, असंगत र अविश्वसनीय छ ।

यो चम्किलो कूटनीतिक उडानसँगै एउटा असहज र आधारभूत प्रश्न पनि उब्जन्छ- आफ्नै छिमेकीहरूको मन जित्न नसकेको र उनीहरूको विश्वासको जग बलियो बनाउन नसकेको भारतले समग्र ‘ग्लोबल साउथ’ को नेतृत्व कसरी गर्नसक्छ ? भारतको वैश्विक महत्त्वाकांक्षाको विमानले जतिसुकै उचाइ लिए पनि त्यसको धावनमार्ग रहेको आफ्नै घर-आँगन, अर्थात दक्षिण एसिया, अझै पनि अविश्वास, तनाव र द्वैध चरित्रको कुहिरोमा ढाकिएको छ । यथार्थमा, कुनै पनि राष्ट्रको अन्तर्राष्ट्रिय विश्वसनीयताको पहिलो र सबैभन्दा  महत्त्वपूर्ण परीक्षण उसले आफ्नै छिमेकीहरूसँग कायम गरेको सम्बन्धबाट हुन्छ । नेपाली समाजमा गहिरोसँग जडिएको उखानले भनेजस्तै, ‘घर सुधारेपछि मात्र चौतारीमा उठ्ने ठाउँ मिल्छ ।’

छिमेक सम्बन्ध : विश्वसनीयताको गहिरो दरार
भारतको विदेशनीतिको घोषित मन्त्र ‘नेबरहुड फर्स्ट’ भए पनि व्यवहारमा उसको छिमेक सम्बन्ध प्रायः तनावग्रस्त र अविश्वासले भरिएको देखिन्छ । नेपालसँगको सम्बन्ध नाकाबन्दीको तीतो घाउ, कालापानी-लिपुलेकजस्ता सीमा विवादको नमिठो स्मृति र बेलाबेलामा हुने राजनीतिक हस्तक्षेपको आरोपले गर्दा बारम्बार चिसिने गर्छ । बंगलादेशसँग सौहार्द्रपूर्ण सम्बन्धको कथा गाइए पनि, वर्षौंदेखि अल्झिएको टिस्टा जल बाँडफाँटको मुद्दाले विश्वासको धागो पहिले नै कमजोर छ । पूर्वप्रधानमन्त्री हसिनालाई शरण दिएपछि त झन बोलचालै बन्द छ ।

श्रीलंकाले गहिरो आर्थिक संकटमा भारतबाट महत्त्वपूर्ण सहयोग पाए पनि चीनको रणनीतिक उपस्थिति र विगतको हस्तक्षेपको छायाबाट मुक्त हुन सकेको छैन । माल्दिभ्समा गुञ्जिएको ‘इन्डिया आउट’ को नारा भारतप्रतिको जनताको असन्तोषको सबैभन्दा कटु अभिव्यक्ति हो । यहाँसम्म कि, भारतको सबैभन्दा निकट र भरपर्दो मित्र मानिने भुटानले समेत आफ्नो सार्वभौम हितका लागि चीनसँग सीमा वार्ता अघि बढाउँदा नयाँदिल्ली लामो समयदेखि चिन्तामा छ ।

पाकिस्तानसँगको सम्बन्ध सुधारको त कुनै सम्भावना नै देखिँदैन । पहलगाम घटनापछिको अवस्था यहाँ विश्लेषण गर्न परेन । यस्ता धेरै उदाहरण र प्रमाण छन् जसले भारतको पींध मानिने छिमेक सम्बन्धमा संवादहीनता छ ।

सबै घटनाक्रमहरूले भारतको ‘छिमेकमैत्री’ छविलाई मात्र होइन, उसको वैश्विक नेतृत्वको दाबी नै कमजोर छ । जब आफ्नै क्षेत्रका साना र तुलनात्मक रूपमा कमजोर मुलुकहरूले भारतप्रति गहिरो सन्देह राख्छन्, तब टाढाका देशहरूले उसको नेतृत्वको दाबीलाई स्वाभाविक रूपमा शंकाको दृष्टिले हेर्न थाल्छन् ।

‘छिमेकी मित्र’ पहिला बन्नु
भारतले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आर्थिक, सैन्य र प्राविधिक शक्ति प्रदर्शन गर्न सक्ला तर नेतृत्व शक्तिले होइन, विश्वासले आर्जन गरिन्छ । त्यो विश्वासको जग आफ्नै छिमेकीहरूको भरोसा जितेर मात्र निर्माण हुनसक्छ । यसका लागि भारतले छिमेक सम्बन्धमा चार आधारभूत मूल्यलाई व्यवहारमा उतार्नुपर्छ- सम्मान, समता, संवाद र सहकार्य ।

सम्मान भन्नाले छिमेकी राष्ट्रको सार्वभौमिकता, उसको निर्णय लिने स्वतन्त्रता र राष्ट्रिय संवेदनशीलताको नि:सर्त आदर गर्नु हो । नाकाबन्दीजस्ता एकपक्षीय दबाब, सीमा विवादमा देखाइने हठ वा घरेलु राजनीतिमाथिको सूक्ष्म व्यवस्थापन असम्मानका प्रतीक हुन्, जसले सम्बन्धमा स्थायी दरार पैदा गर्छ । समता को अर्थ हो, हरेक देशलाई उसको आकार वा शक्ति जस्तोसुकै भए पनि बराबरीको हैसियतमा व्यवहार गर्नु ।

भारतले आफूलाई ‘ठुलो दाइ’ को भूमिकामा देख्ने परम्परागत सोच त्यागेर एक समान साझेदारका रूपमा प्रस्तुत हुनुपर्छ । संवाद भनेको संवादहीनताको अन्त्य गर्दै नियमित, इमानदार र सबै तहमा खुला छलफलको संस्कृति निर्माण गर्नु हो । सम्बन्ध सुधारको पहिलो र अन्तिम माध्यम नै यही हो । र सहकार्य को अर्थ हो, साझा हितका परियोजनाहरूमा पारदर्शी ढंगले सह-स्वामित्वको भावनाका साथ काम गर्नु ।

यी मूल्यहरूको अभावमा भारतको व्यवहार र वाचाबीचको खाडल स्पष्ट देखिन्छ । यही खाडलले चीनलाई छिमेकीहरूमाझ एक सहज र आकर्षक विकल्पको रूपमा स्थापित हुन मद्दत पुर्‍याउँछ । भारतको ढिलो कार्यान्वयन शैली, राजनीतिक अस्थिरता र अनिश्चित सहयोग नीतिले गर्दा साना मुलुकहरू स्वाभाविक रूपमा चीनतर्फ आकर्षित हुन्छन् ।

ग्लोबल साउथको नेतृत्वमा छिमेकको भूमिका किन निर्णायक छ ?
भारतले ग्लोबल साउथको नेतृत्व गर्ने महत्त्वाकांक्षा राखेको विषय अब नयाँ रहेन। कतिपय कोणबाट हेर्दा यो स्वाभाविक पनि हो । नेपालको भूमिबाट हेर्दा त ठूलो अवसर पनि हो । भारतले ग्लोबल साउथको नेतृत्व गर्ने विषयमा नेपालले पनि धेरै फाइदा देख्छ । त्यो भनेको कुलोमुनिको खेतमा पानी लगाउनु नपर्नेजस्तै हो । तर भारतले छिमेकको महत्त्वलाई तीनवटा निर्णायक कोणबाट बुझ्नुपर्छ ।

पहिलो हो विश्वसनीयता । अन्तर्राष्ट्रिय सम्बन्धको आधारशीला नै भरोसा हो । छिमेकीहरूले नै विश्वास नगरेको देशलाई विश्वका अन्य मुलुकले कसरी पत्याउने ?

दोस्रो, स्रोतको व्यवस्थापन । छिमेकीहरूसँगको अस्थिर सम्बन्धले भारतको अधिकांश समय, ऊर्जा र कूटनीतिक क्षमतालाई क्षेत्रीय तनाव समाधान गर्नमै खर्च गराउँछ, जसले उसलाई विश्वमञ्चमा पूर्ण क्षमताका साथ प्रस्तुत हुनबाट रोक्छ रोकिरहेको पनि देखिन्छ ।

तेस्रो र सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, चीनको प्रभाव । दक्षिण एसिया चीनका लागि रणनीतिक प्रभाव विस्तार गर्ने प्रमुख क्षेत्र बनेको छ। चीनले यहाँ सडक, ऊर्जा, बन्दरगाह र रेलमार्गमा गरेको विशाल लगानीले उसलाई एक शक्तिशाली प्रतिस्पर्धीका रूपमा उभ्याएको छ ।

यदि भारतले आफ्नै आँगनमा चीनभन्दा भरपर्दो र आकर्षक विकल्प दिन सक्दैन भने, दक्षिण एसिया वा अफ्रिका वा ल्याटिन अमेरिकामा चीनसँग प्रतिस्पर्धा गर्ने उसको दाबी एक रणनीतिक भ्रम मात्र साबित हुनेछ ।

छिमेक सम्बन्ध सुधारको पहिलो पाइला ‘नेपाल’
छिमेक सम्बन्ध सुधारको पहिलो र सबैभन्दा प्रभावकारी पहल कहाँबाट सुरु गर्ने भन्ने प्रश्नमा, भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणको निम्तो दिनु एक अत्यन्तै सुझबुझपूर्ण र रणनीतिक कदम हुनसक्छ । यो केवल एक कूटनीतिक औपचारिकता मात्र होइन, बरु यसले सम्मान र  महत्त्वको गहिरो प्रतीकात्मक सन्देश प्रवाह गर्छ ।

प्रायः ‘ठुलो दाइ’ को व्यवहारको आरोप खेपिरहेको भारतले आफैं अग्रसर भएर नेपालजस्तो ऐतिहासिक र सांस्कृतिक रूपमा निकटतम छिमेकीलाई उच्चस्तरीय भ्रमणको निम्तो दिँदा, यसले विगतका तिक्तताहरूलाई पन्छाएर सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने भारतको तत्परतालाई दर्शाउँछ। यस्तो द्विपक्षीय भ्रमणले दुई देशबीचका विशिष्ट र जटिल मुद्दाहरू, जस्तै- सीमा विवाद, ईपीजी प्रतिवेदन, व्यापार सन्धि र ऊर्जा सहकार्यमा केन्द्रित र परिणाममुखी छलफल गर्ने वातावरण बनाउँछ । यो कदमले भारतको ‘छिमेक पहिलो’ नीति नारामा मात्र सीमित नभई व्यवहारमा पनि लागु हुन्छ भन्ने बलियो प्रमाण प्रस्तुत गर्छ, जसले अन्य छिमेकीहरूमा पनि सकारात्मक सन्देश प्रवाह गर्दछ ।

यसको अर्को पक्ष नेपालमा बढ्दो चिनियाँ प्रभावलाई (चिनियाँ प्रभाव छ भन्ने गरिन्छ) लिएर चिन्तित भारतका लागि यो एक प्रभावकारी कूटनीतिक कदम हो । नेपाललाई विश्वासमा लिएर सहकार्य बढाउनु भनेको चीनलाई यो सन्देश दिनु हो कि भारत आफ्नो परम्परागत प्रभाव क्षेत्रलाई बेवास्ता गर्दैन र एक भरपर्दो विकल्प दिन सक्षम छ ।

नेपालसँगको सफल द्विपक्षीय संवादपछि, छिमेक सम्बन्धलाई थप सुदृढ बनाउन अर्को रचनात्मक कदम चाल्न सकिन्छ । भारतले दक्षिण एसियाका सबै देशका नेताहरूलाई एउटा अनौपचारिक बैठक, जस्तै- ‘डिनर मिटिङ’ का लागि आमन्त्रण गर्नसक्छ । सार्कजस्ता औपचारिक मञ्चहरू प्रक्रियागत जटिलता र राजनीतिक अडानका कारण निष्क्रियप्रायः रहँदा, यस्तो अनौपचारिक जमघटले नेताहरूलाई व्यक्तिगत सम्बन्ध विकास गर्ने र कुनै एजेन्डाको दबाबविना खुला हृदयले कुराकानी गर्ने दुर्लभ अवसर प्रदान गर्छ ।

व्यक्तिगत विश्वासले नै जटिल राजनीतिक समस्याहरू समाधान गर्ने ढोका खोल्न सक्छ। यस्तो बैठकले सार्कको गतिरोधलाई बाइपास गर्दै क्षेत्रीय सहकार्यको भावनालाई जीवित राख्न मद्दत गर्छ र ‘दक्षिण एसियाली परिवार’ को साझा दृष्टिकोण निर्माण गर्न आधार तयार पार्छ। यद्यपि यसमा भारत-पाकिस्तान तनावजस्ता चुनौती छन्, तर एक इमानदार प्रयासले क्षेत्रीय विश्वासको वातावरण पुनर्निर्माण गर्नसक्छ ।

यी दुई कदमहरूले भारतको नेतृत्व क्षमतालाई नयाँ ढंगले परिभाषित गर्न सक्छन् । नेतृत्व भनेको ठुला घोषणाहरू गर्नु मात्र होइन, बरु धैर्य, सम्मान र इमानदारी साथ स-साना तर अर्थपूर्ण पहलहरू गर्नु पनि हो । नेपालसँगको द्विपक्षीय भ्रमणबाट सुरु गरेर क्षेत्रीय अनौपचारिक संवादसम्मको यो यात्राले भारतलाई पहिले एक असल ‘छिमेकी मित्र’ को रूपमा स्थापित गर्नेछ । र यही विश्वासको जगमा उभिएर मात्र उसले आफूलाई ‘विश्वमित्र’ को रूपमा प्रस्तुत गर्ने आफ्नो वैश्विक दाबीलाई सार्थक र विश्वसनीय बनाउन सक्छ ।

नेतृत्वको बाटो कहाँबाट सुरु हुन्छ ?
भारतको वैश्विक नेतृत्वको आकांक्षा जायज, समावेशी र सामयिक छ । विश्वका विकासोन्मुख राष्ट्रहरू भारतमा एक सम्भावित साझेदार देख्छन् । तर साझेदारीको जग घोषणाले होइन, व्यवहारले निर्माण हुन्छ । भारतले आफूलाई ‘विश्वमित्र’ का रूपमा चिनाउनुअघि, साँचो अर्थमा एक ‘छिमेकी मित्र’ बन्नु अपरिहार्य छ । विश्वास वाचाले होइन, व्यवहारले जितिन्छ र त्यो व्यवहारको सुरुवात सबैभन्दा नजिकका मुलुकहरूसँग हुन्छ ।

अन्ततः भारतको ग्लोबल साउथ नेतृत्वको यात्राको बाटो न त जेनेभाबाट सुरु हुन्छ, न त वासिंटनबाट, त्यो बाटो सुरु हुन्छ काठमाडौं, ढाका, थिम्पु र मालेबाट । घर सुधारेपछि मात्र चौतारीमा सम्मानजनक स्थान मिल्छ । यदि भारतले यो सरल तर गहिरो सत्यलाई आफ्नो कूटनीतिक दर्शनको केन्द्रमा राख्न सक्यो भने, उसले ग्लोबल साउथको नेतृत्व मात्र होइन, विश्वमा एक शान्तिपूर्ण, सम्मानित र दिगो शक्तिका रूपमा आफ्नो स्थान सुनिश्चित गर्नसक्छ ।
-न्युज एजेन्सी नेपाल