काठमाण्डौँ , भदौ २७ :

सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई माई नदीको हुलाकी राजमार्गमा पर्ने करिब सात सय २० मिटर लामो मुख्य पुल निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले झापाली जनताको एक मात्रै विकल्पका रुपमा रहेको पुल विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको र हाल पूर्ण रुपमा जीर्ण रहेकाले सरकार र निर्माण कम्पनी बीचको समस्या समाधान गरेर पुलको बाँकी काम तत्काल अघि बढाउन सरकारसँग  माग गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसीले मङ्गलबारदेखि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री अनशनमा रहेको उल्लेख गर्दै उहाँमाथि भएको प्रहरी हस्तक्षेप बन्द गरी सरकारले सहमतिबाट समस्याको समाधान गर्नुपर्छ भन्नुभयो । 

सांसद अशोककुमार चौधरीले राजनीतिक दलले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्यले उपसभामुख इन्दिरा रानाको राजीनामाको माग गरिएको भन्दै आपत्ति जनाउनुभयो । 

सांसद आस्मा कुमारी चौधरीले देशमा रहेका विद्यमान सबै संस्कृति, परम्पराको उत्तिकै महत्व हुने भन्दै थारू समुदायले मनाउने विभिन्न पर्वलाई पनि राष्ट्रिय क्यालेन्डरमा राख्न माग गर्नुभयो । 

सांसद असिम शाहले संविधानमा निःशुल्क शिक्षा भनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद उर्मिला माझीले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा देशका विभिन्न ठाउँका सडक जीर्ण अवस्थामा रहेको भन्दै जतिसक्दो चाँडो निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरू ईश्वरी घर्ती, एकनाथ ढकाल, कल्पना चौधरी, कालुराम राई, कुसुमदेवी थापा, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गोमा सापकोटा, चन्द्रबहादुर विश्वकर्मा, अम्मरबहादुर थापालगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।