
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक ठहर गर्न नसक्ने स्पष्ट पारेका छन्। सोमबार विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले संविधान र कानुनअनुसार विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक रहेको दाबी गरे।
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठ्न सक्ने आशंकाप्रति लक्षित गर्दै थापाले थपे, ‘आज यो विषयमा कसैले कानुनी प्रश्न उठाए पनि नेपालको संविधानको आधारमा निर्वाचन आयोगले हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन। त्यसमा ढुक्क भएर बस्नुस्।’ उनले नेपालको संविधानभन्दा माथि कुनै पनि शक्ति नरहेको उल्लेख गरे ।
उनले भने, ‘संविधानको व्यवस्था के छ ? राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था के छ ? त्यसैको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको हो।’ उनको भनाइसँगै विशेष महाधिवेशन संविधान र कानुनी प्रक्रियाभित्र रहेको छ ।