काठमाडौं, चैत १९ :

राजनीतिमा असहमति स्वाभाविक हो। विचार फरक हुन सक्छ, रणनीति फरक हुन सक्छ, नेतृत्वप्रति असन्तुष्टि पनि हुन सक्छ। तर एउटा कुरा कहिल्यै स्वीकार्य हुँदैन-जसको हस्ताक्षरबाट टिकट लिएर चुनाव लड्ने, हार जितको बेला त्यसै नेतृत्वको वैधानिकता स्वीकार गर्ने, अनि हारपछि ‘हामी विशेष अधिवेशन मान्दैनौँ’, ‘हामी झुकेर जाँदैनौँ’ भन्ने दोहोरो चरित्र।

हिजोसम्म सभापतिज्यू भन्दै टिकट माग्ने, सभापतिको निर्णयलाई वैधानिक मानेर उम्मेदवार बन्ने, पार्टीको आधिकारिक चिन्ह र संरचनाको लाभ उठाएर चुनाव लड्ने तर परिणाम आफूअनुकूल नआएपछि अचानक विशेष अधिवेशन, केन्द्रीय निर्णय, संगठनात्मक प्रक्रिया सबै अस्वीकार गर्ने प्रवृत्ति आत्मालोचनाभन्दा बढी पराजयको बहाना मात्र हो।

यदि सभापतिको नेतृत्व, हस्ताक्षर, निर्णय र वैधानिकता गलत थियो भने प्रश्न उठ्छ, टिकट किन लिइयो? त्यही नेतृत्वको नाममा चुनाव किन लडियो? त्यही संगठनको छातामुनि उभिएर मत किन मागियो?

राजनीतिमा पराजयलाई स्वीकार गर्ने संस्कार हुनुपर्छ। हारेपछि संगठनमाथि आक्रोश पोख्ने, प्रक्रिया नमान्ने, अधिवेशन अस्वीकार गर्ने र समानान्तर मनोवृत्ति देखाउने हो भने त्यो संघर्ष होइन त्यो अनुशासनहीनता, अवसरवाद र व्यक्तिगत महत्वाकांक्षाको उदांगो प्रदर्शन हो।

विशेष अधिवेशन वा पार्टीका वैधानिक निर्णयहरू मनपरे मात्रै मान्ने, नपरे नमान्ने हो भने संगठन संस्था रहँदैन, व्यक्तिगत स्वार्थको मञ्च बन्छ।
पार्टी कुनै व्यक्तिको मनोदशाले चल्दैन पार्टी विधि, विधान, निर्णय र सामूहिक अनुशासनले चल्छ।

आज केही नेताहरूको व्यवहारले यही प्रश्न उठाएको छ ।उनीहरू वास्तवमै पार्टी बलियो बनाउन चाहन्छन्?कि हारपछि आफ्नो गुट जोगाउन ‘वैचारिक विद्रोह’ को आवरणमा राजनीतिक दबाबको खेल खेलिरहेका छन्?

सत्य के हो भने, हारपछि झुक्नु अपमान होइन, संगठनप्रति निष्ठा हो। निर्णय मान्नु दासता होइन, लोकतान्त्रिक अनुशासन हो। आत्मसमिक्षा गर्नु कमजोरी होइन, परिपक्वता हो।

जो हिजो सभापतिको हस्ताक्षरबाट उम्मेदवार बने, उनीहरूले आज सभापतिको वैधानिकता नकार्नुभन्दा पहिले जनतासामु र कार्यकर्तासामु एउटा इमानदार जवाफ दिनुपर्छ ।हारको जिम्मा लिने कि नेतृत्वलाई दोष दिएर आफ्नो असफलता छोप्ने?

पार्टीभित्र असहमति राख्न पाइन्छ, तर अधिकार चाहिने, जिम्मेवारी नचाहिने, टिकट चाहिने, अनुशासन नचाहिने पद चाहिने, प्रक्रिया नचाहिने,भन्ने राजनीति अब धेरै दिन टिक्दैन।

अन्ततः स्पष्ट छ, सभापतिको हस्ताक्षरबाट चुनाव लड्ने अनि हारपछि ‘हामी विशेष अधिवेशन मान्दैनौँ’ भन्नु राजनीतिक असंगति मात्र होइन, नैतिक दिवालियापन पनि हो। यस्ता प्रवृत्तिले नेता ठूलो हुँदैन, बरु आफ्नै विश्वसनीयता सानो बनाउँछ। पार्टी बचाउने हो भने पराजयपछि विद्रोह होइन, आत्मसमिक्षा चाहिन्छ। गुट होइन, संगठन चाहिन्छ। अहंकार होइन, अनुशासन चाहिन्छ।

 सागरकुमार पराजुली
बुढानीलकण्ठ-१०, काठमाडौ